- काठमाडौं,पुस २१ गते मंगलवार ।।
- जनप्रभाव : सम्बादाता
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठकले पार्टी एकताको बाँकी काम पुरा गर्नका लागि गठित कार्यदललाई पूर्णता दिइएको छ । सोमबार बसेको स्थायी कमिटी बैठकले कार्यदललाई पूर्णता दिइएको हो । पार्टी संगठनको एकीकरणको बाँकी काम पुरा गर्न सुझाव दिन अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा आइतबार कार्यदल बनेको थियो ।
कार्यदलमा स्थायी कमिटी सदस्यहरु अष्टलक्ष्मी शाक्य, गिरिराजमणि पोखरेल, गोकर्ण बिष्ट, घनश्याम भुसाल, जनार्दन शर्मा, पम्फा भुसाल, वर्षमान पुन, बेदुराम भुसाल, भिम रावल, मातृका यादव, लिलामणि पोखरेल, सुरेन्द्र पाण्डे रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
कार्यदलले प्रदेश कमिटी, जिल्ला कमिटी, जनवर्गीय संगठन र मोर्चा संगठनहरुको पदाधिकारीबारे तथा पार्टी संगठनको एकीकरणको बाँकी रहेको कामहरु पुरा गर्ने सम्बन्धमा ७ दिनभित्र सुझाव दिई कार्यान्वयनको प्रक्रियामा लगिने उनले बताए । त्यसैगरी बैठकले सरकारको प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमका विरुद्ध गरिएको पहिलो चरणको संघर्षका कार्यक्रम उत्साहपूर्वक सफल भएको समिक्षा गर्दै पौष १८ गते घोषणा गरेको दोस्रो चरणको संघर्षको कार्यक्रम सफल पार्न पार्टी पंक्तिलाई पूर्ण रुपमा परिचालन गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
बैठकले असंवैधानिक कदमविरुद्ध अन्य राजनीतिक पार्टीहरुसँग पनि वार्ता गरी संयुक्त संघर्ष गर्ने पहललाई जारी राख्ने निर्णय पनि गरेको छ । पार्टीको केन्द्रीय संघर्षको अतिरिक्त प्रदेश, जिल्ला, पालिकास्तर तथा वडास्तरसम्म संघर्ष समिति गठन गर्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
त्यस्तै, प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा केन्द्रीय संघर्ष समितिको सचिवालय र कार्यालय गठन गरिएको र त्यसको सह–संयोजकको जिम्मेवारी स्थायी कमिटी सदस्यहरु योगेश भट्टराई, पम्फा भुसाल र गणेश शाहलाई दिईएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
आइतबारदेखि शुरु भएको स्थायी कमिटी बैठकमा पार्टी अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम विरुद्धको संघर्ष सफल पार्न र पार्टी एवम् कम्युनिष्ट आन्दोलन विरोधीलाई परास्त पार्न दृढतापूर्वक अघि बढ्न आह्वान गरेको प्रवक्ता श्रेष्ठले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !