- काठमाडौं, पुस १८ गते सनिवार ।।
- जनप्रभाव – सम्बादाता
आफूलाई सामाजिक अभियन्ता भनेर चिनाउँदै आएकी विद्या सरकार शर्मा पुस ६ देखि महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा छिन् । सुनसरी घर भएकी उनले आफूलाई सामाजिक अभियन्ता भनेर चिनाउँदै आएकी छन् ।
उनी भारतसहित मलेशिया र इन्डोनेशिया घुुम्छिन् । काठमाडौंका महँगा बार र रेष्टुरेन्टमा उनले आफ्नो र साथीको जन्मदिन भब्यताका साथ मनाउछिन् ।
राजनीतिक नेतृत्वसँग भेटछिन् । सरकारका मन्त्रीहरुसँग उनको सहज पहुँच छ । उनी सत्तारुढ नेकपादेखि राप्रपासम्म निकट रहेको पार्टीका उच्च नेतासँग खिंचेका उनका तस्वीरले संकेत गर्छ ।
काठमाडौं बस्दै आएकी उनी देशभर नै राहत वितरण लगायतका सामाजिक गतिविधि चलाउँदै आएकी थिइन् ।
कहिले राहत वितरण त कहिले अन्य सामाजिक कामहरुको लागि भन्दै उनी रकम संकलन गर्थिन् । उनको फेसबुक प्रोफाइलमा महिला, विपन्न तथा बालबालिकालाई राहत वितरण गरेको फोटोहरु पनि छन् ।
महिलाबिरुद्ध हुने हिंसादेखि सुशासन र सरकारबिरुद्ध हुने बिरोध प्रर्दशनमा समेत ती युवतीको सक्रियता रहेको उनको सामाजिक सञ्जालको खाताले प्रष्ट्याउछ ।
शर्माले आफूलाई सामाजिक अभियन्ता भनेर चिनाउँदै आए पनि उनको खास धन्दा भने ठगी रहेको अहिले आएर खुलेको छ ।
प्रहरीका अनुसार शर्माले थुप्रै व्यक्तिलाई विभिन्न प्रलोभनमा पारेर करोडौं रकम ठगी गरेको खुलेको छ । सुरुवातमा सामाजिक गतिविधि गर्ने गैरसरकारी संस्थामा उनी काम गर्थिन् । पछिल्लो समय भने आफैले नेतृत्व गरेर राहत वितरणलगायत काम गर्दै आएकी थिइन् ।
प्रहरीका अनुसार उनले राहत वितरण गर्ने भन्दै राजधानीका ठूला होटलमा कार्यक्रम गर्थिन् । रकम संकलन गरेर होटलका लाखौं बिल नै नतिरी फरार हुन्थिन् ।
उनीविरुद्ध राहत वितरणकै लागि भनेर विभिन्न व्यापारिक संस्थाबाट सामानहरु लिएको तर पैसा नदिएको उजुुरी प्रहरीकोमा परेको छ ।
प्रहरीका अनुसार राजधानीमा सडक दुर्घटनामा छोरा गुमाएका एक दम्पतीलाई उनले करोडभन्दा बढी रकम ठगी गरेको पाइएको छ । मृतात्माको शान्तिको लागि दीनदुःखीलाई सहयोग गर्नुपर्छ भन्दै उनले रकम लिएको र फरार भएको परिवार भनाइ छ ।
उनले विभिन्न व्यक्तिलाई विदेश पठाइदिने भन्दै करोडौं रकम ठगी गरेको प्रहरीले जनाएको छ । उनको ठगीमा पर्नेमा व्यापारीदेखि प्रहरीका अधिकारीसम्म रहेको प्रहरीको भनाइ छ ।
परिसरका डीएसपी नरेन्द्र चन्दले शर्मालाई अभद्र व्यवहार मुद्दामा पक्राउ गरिए पनि उनीविरुद्ध ठगीका उजुरीहरु आउनेक्रम जारी रहेको बताए ।
डीएसपी चन्दले शर्माविरुद्ध जिल्ला प्रहरी कार्यालय दैलेखमा पनि ठगीको उजुरी परेको र यताको मुद्दापछि उनलाई दैलेख पठाइने जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार शर्माविरुद्ध ३ वटा उजुरी दर्ता भएका छन् ।
शर्माले विभिन्न व्यक्तिसँग करारनामा गर्ने र त्यसअनुसार रकम भुक्तानी नगरेको पाइएको डीएसपी चन्दले बताए । ‘उनले विदेश पठाइदिने, राहत वितरण गर्नेलगायत विभिन्न बहानामा ठगी गर्दै आएको गुनासो हामीसमक्ष आएको छ । चेक बाउन्सको उजुरी पनि छ,’ डीएसपी चन्दले भने ।
प्रहरीका अनुसार शर्माले अहिलेसम्म करिब १५ करोड रुपैयाँको हाराहारीमा ठगी गरेको प्रारम्भीक अनुसन्धानमा खुलेको छ । उनले यतिसम्मकी परिसरमै कार्यरत एक महिला प्रहरीबाट समेत १४ लाख रुपैयाँ ठगी गरेको खुलेको छ ।
दैलेख प्रहरी प्रमुख डीएसपी अनुपम श्रेष्ठले शर्माले राहतका लागि विभिन्न व्यक्तिहरुसँग रकम असुलेको, व्यापारिक संस्थाबाट लाखौं रकमको सामान लिएर पनि रकम नतिरेको, विदेश पठाइदिने भन्दै ठगी गरेको लगायतका उजुरी रहेको बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !