- रोल्पा, पुस १६ गते बिहिवार ।।
- जनप्रभाव : सम्बादाता
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री वर्षमान पुनले संविधानको रक्षा गर्नुपर्ने राष्ट्रपति विद्यादेवी भण्डारीले नै संविधानको मर्म र भावनाको उलंघन गरेको टिप्पणी गरेका छन् । संविधानको कार्यान्वयन गर्ने जिम्मा पाएका प्रधानमन्त्री केपी ओलीले गरेको असंवैधानिक कदमलाई आँखा चिम्लेर सदर गरेर राष्ट्रपतिले पनि असंवैधानिक काम गरेको उनको तर्क छ ।
विगतको संविधानमा संसद विगठनको व्यवस्था राख्दा देशमा अस्थिरता हुने भएकोले त्यसलाई २०७२ सालको संविधानमा नराखेको उल्लेख गर्दै उनले संविधानमै नभएको व्यवस्थालाई टेकेर प्रधानमन्त्री ओलीले संसद विगठन गर्नु प्रतिगमनकारी कदम भएको बताए ।
“यस विषयमा कुनै पनि राय परामर्श नै नगरी प्रधानमन्त्रीको प्रतिगमनकारी कदमलाई नै बैधता दिएको, र काम चलाउन सरकार भनि कही कतै पनि उल्लेख नगरेकोले राष्ट्रपति नै संविधानको उलंघन गरेकी छन् । यो कदम सच्चिएन भने राष्ट्रपति नै देशको अभिभावक बन्न सक्ने छैनन् ।”
निर्वाचनमा आयोगमा ३ सय १५ जना केन्द्रीय सदस्यहरुले हस्ताक्षर गरी निवेदन दिएको उल्लेख गर्दै निवर्तमान ऊर्जामन्त्री पुनले प्रचण्ड र माधव नेपालको नेतृत्वमा नै आधिकारीक र संस्थापन पार्टी हुने विश्वास व्यक्त गरे ।
रोल्पामा बुधबार भएको एक पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता पुनले निर्वाचन आयोगले साविकको केन्द्रीय सदस्यको संख्यालाई आधार मानेर नै फैसला गर्ने उनले बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश सभा पनि विघटन गर्ने धम्की दिएपनि उनलाई प्रदेश सभामा भंग गर्ने अधिकार नभएको तर्क गरे । प्रधानमन्त्रीले संकटकाल लगाएपनि त्यसको विरुद्धमा संघर्ष गर्ने नेता पुनले बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !