- काठमाडौं , पुस १६ गते बिहिवार ।।
- जनप्रभाव : सम्बादाता
बौद्ध क्षेत्रमा पछिल्लो एक वर्षयता चोरीका घटनाहरु बढेको विषय प्रहरीको टाउको दुखाइ बनिरहेको थियो । विशेषगरी दिउँसो नै सुनचाँदी र नगद चोरी भइरहेको उजुरी प्रहरीसमक्ष आउने गरेको थियो ।

त्यसपछि महानगरीय प्रहरी वृत्त बौद्धले विशेष टोलीलाई नै परिचालन गरेर चोरहरुको खोजी थाल्यो । यही क्रममा प्रहरीले चोरीमा संलग्न ७ जनालाई पक्राउ गर्न सफल भएको छ । उनीहरुको साथबाट ठूलो परिमाणमा सुनचाँदी, लाखौं रुपैया र लागूऔषध पनि बरामद भएको छ ।

पक्राउ पर्नेमा झापाका २७ वर्षीय सोनम लामा, २५ वर्षीय सनम माझी, २३ वर्षीय विजय लिम्बू, सिन्धुपाल्चोकका ३७ वर्षीय सञ्जीव तामाङ, भोजपुरका ३२ वर्षीय सन्तोष विक र सूर्यबहादुर श्रेष्ठ छन् ।
यस्तै, भारत घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ जोरपाटीमा गणेश टन्च सेन्टर नामको सुनचाँदी परीक्षण केन्द्र चलाउँदै आएका २३ वर्षीय युवराज बलु ववरालाई पक्राउ गरिएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी प्रमेश विष्टका अनुसार उनीहरुले कुन समयमा मानिसहरु घरमा हुँदैनन् भनेर निगरानी गर्ने र मानिस नभएको बेलामा ढोका दराजहरु फुटाई सुन र नगद लगायतका धनमालहरु चोरी गर्ने गरेका थिए ।
डीएसपी विष्टका अनुसार चोरीका लागि उनीहरुले बाग्मती प्रदेश ०२–०२०प६६११ नम्वरको हल्का पहेलो रंगको स्कुटरको पछाडिको अन्तिममा रहेको १ अंकलाई मेटाई ० बनाई प्रयोग गर्दै आएका थिए । चोरी गरेका सुनका गहनाहरु उनीहरुले भारतीय नागरिक युवराजको पसलमा बेच्दै आएका थिए ।
उनीहरुको साथबाट नगद ५ लाख ३२ हजार, सुन ६० तोला, चाँदी ५ केजी, खैरो हेरोइन, सुनचाँदी जोख्न प्रयोग गरिने ढकतराजु ५ थान, घडी, मुगा, सिमाला, ल्यापटप, मोबाइल, मोटरसाइकल, ४ लाख ९० हजारको बैंक भौचर, चोरीमा प्रयोग गरिने फलामको औजारहरु बरामद गरेको छ ।
उनीहरुमाथि अदालतबाट चोरी तथा लागू औषध मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको डीएसपी विष्टले जानकारी दिए ।
