-
काठमाडौं , पुस १५ गते बुधबार ।।
- जनप्रभाव
उच्च स्तरीय भ्रमणको तयारीका लागि भारतीय विदेश मन्त्रालयको बन्दोबस्ती र सुरक्षा हेर्ने टोली काठमाडौं आइपुगेको छ । यद्यपी भारतबाट रक्षामन्त्री राजनाथ सिंह वा सोही तहको नेताको नेपाल भ्रमणको गोप्य तयारी भइरहेपनि यसको औपचारिक जानकारी गराइएको छैन् ।
भारतको विदेश मामिला मन्त्रालयको बन्दोबस्ती तथा सम्पत्ति खरिद विभागका सहसचिव आलोक रञ्जन झाको नेतृत्वमा वरिष्ठ आर्किटेक्ट निधि आनन्द र कर्णेल विनय बहलको टोली काठमाडौं आइपुगेको हो । यो टोलीले बन्दोबस्ती र सुरक्षा हेर्ने भएकाले उनीहरुको भ्रमण राजनीतिक भन्दा भारतबाट आउने उच्च तहका नेताको नेपाल बसाई सहजीकरण गर्न भएको अनुमान गर्न सकिन्छ ।
भारतीय दूतावास निकट एक स्रोतका अनुसार भारतीय दूतावासले भारतीय विदेश मंत्रालयको टोली नेपाल आएको पुष्टिगर्दै यो टोली वीरगञ्जस्थित महाबाणिज्य दूतावासका लागि जग्गा खरिद र भवन निर्माणको पूर्व तयारीका लागि आएको दाबी गरेको छ ।
‘नेपालमा नेकपाको कानूनी विभाजन र विघटन बारे सर्वोच्चको फैसला नआएसम्म कुनै पनि आधिकारिक सरकारी भ्रमण नगर्ने निष्कर्षमा भारत पुगेको कुरा मेरो जानकारीमा छ’ स्रोतले पर्दाफाससँग भन्यो ।
उसले नेपालस्थित भारतीय दूतावासको स्रोतलाई जनाउदैं मन्त्रालयका उच्च अधिकारी काठमाडौंमा राजनीतिक भेटघाटमा सक्रिय रहेको जनाएको छ ।
देशमा बढदो राजनीतिक संकटकाबिच चीनबाट उपमन्त्रीको नेतृत्वमा उच्च तहको कुटनीतिक टोलीले भेटवार्ता तिब्र पारिरहेको छ । उनीहरुको भ्रमण लगत्तै भारतबाट समेत उच्च तहको भ्रमण गर्ने रणनीति रहेको टिप्पणीकारहरुको बुझाई छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !