- काठमाडौं , पुस १५ गते बुधबार ।।
- जनप्रभाव : सम्बादाता
नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तमु समुदाय (गुरुङ) काे ल्होसार, उधौली र योमरी पूर्णिमाको अवसरमा शुभकामना व्यक्त गरेका छन् । तमु समुदायको महान पर्व ल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहेका दाजुभाई दिदिबहिनीहरुमा सुख, शान्ति, संमृद्धि, सुस्वास्थ्य, आपसि सद्भाव, एकता, भातृत्व एवं उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गरेका छन् ।
ल्होसार भनेको नयाँ वर्ष हो । गुरुङ समुदायको प्राचिन पात्रो अनुसार पुस १५ गते मनाउने यस पर्वले नयाँ वर्ष शुरु भएको संकेत गर्दछ । यस अवसरमा समुदायमा नाता कुटुम्बहरु जम्मा भएर भोज खुवाउने र शुभकामना आदान प्रदान गर्ने गरिन्छ ।
अध्यक्ष प्रचण्डको शुभकामना सन्देशमा लेखिएको छ, सांस्कृतिक परम्पराका धनी नेपालका तमु समुदायले सदियौंदेखि आफ्नो रीति, परम्परा र संस्कृतिको संरक्षण तथा संवर्धन गर्दै आईरहेका छन् । तमु ल्होसारको छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व राखेकाे विश्वास लिएको छु । आ–आफ्नै परम्परा र संस्कृतिका रुपमा मनाइदै आएका यी चाडपर्वहरु यो वर्ष कोरोना भाइरस (कोभिड–१९) को महामारीलाई मध्यनजर गर्दै पूर्व सावधानीका उपाय अवलम्बन गर्दै मनाउन सबैमा आग्रह पनि गर्न चाहन्छु ।
नेपाल धार्मिक, सामाजिक र सांस्कृतिक रुपमा आफ्नो मौलिक परम्परा भएको देश हो । हाम्रा यिनै सामाजिक र सांस्कृतिक मूल्य मान्यता सहितका परम्पराहरु बीचको आपसी सहिष्णुताले नै हाम्रो मौलिक पहिचान बनेको हो । विविधता भित्रको एकता नेपाली समाजको विशेषता हो । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले पनि नेपाली समाजमा भएका यिनै विभिन्न समुदायका अधिकार र पहिचानलाई मुर्तिकृत गरेको छ ।
अध्यक्ष प्रचण्डले आजै किराँत धर्मालम्वीको उधौली पर्व, नेवार समुदायको योमरी पुन्हिको उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । पर्वको अवसरमा उनले सबै नेपालीबीच बन्धुत्व, प्रेम र एकताको भावना जगाई शान्त, समुन्नत तथा समृद्ध नेपाल निर्माणका लागि प्रेरणा प्रदान गर्न सकुन भन्ने कामना गरेका छन् ।
यतिखेर जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धी कुण्ठित गर्न प्रतिक्रियावादी, सामन्ती, निरंकुशतावादीहरु सल्बलाउन थालेका छन् । पछिल्ला राजनीतिक घटनाक्रमले नेपाली जनताको त्याग र संघर्षबाट प्राप्त उपलब्धी नै गुम्ने हुन् कि भन्ने खतरा पैदा भएको छ । आफ्नो पहिचान र अधिकार रक्षार्थ नेपाली जनताले एकपटक पुनः संघर्ष गर्नुपर्ने बेला भएको छ । तसर्थ सबै समुदायहरुका यी उपलब्धी गुम्न नदिन एकतावद्ध भई आन्दोलनमा लाग्न आग्रह गर्दै चाडपर्वहरुको अवसरमा सु–स्वास्थ्य, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !