- काठमाडौं , पुस १४ गते मंगलवार ।।
- जनप्रभाव – सम्बादाता
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसंगै विभाजित बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले ओली सरकारबिरुद्ध काठमाडौंमा विरोध प्रदर्शन गरीरहेको छ ।
काठमाडौंको रत्नपार्क आसपासका विभिन्न कुनाबाट शुरु भएको जुलुश भृकुटीमण्डप अगाडिको प्रदर्शनीमार्गमा पुगेर विरोध सभामा परिणत हुँदैछ । सभालाई अध्यक्षहरु प्रचण्ड, माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनालसहित सो समूहका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।
जुलुस, प्रदर्शन र भेलालाई ब्यवस्थित गर्न प्रचण्ड–माधव समूहको नेकपाले फरक फरक स्थानबाट निक्लने जुलुसको नेतृत्व केन्द्रिय नेताहरुलाई जिम्मा दिएको थियो । अहिले सबैतिरबाट शुरु भएको जुलुस सभास्थल प्रदर्शनीमार्ग पुग्ने क्रम जारी छ । राजधानीका कोटेश्वर, चाबहिल, महाराजगञ्ज,बालाजु, कलंकी, टेकु लगायतका स्थानबाट निकालिएका जुलुशहरु प्रदशएनीमार्ग पुगेलगत्तै सभा शुरु हुनेछ ।
पुस ५ गते प्रधानमन्त्री केपी ओलीको सिफारीशमा राष्ट्रपतिबाट संसद बिघटन भएसंगै पुस ७ मा भिन्दाभिन्दै केन्द्रिय कमिटी बैठक गरी नेकपाका दुई पक्ष विभाजित भएका हुन् । त्यसयता प्रचण्ड माधव समूहले संसद पुनस्र्थापना,पार्टीमा आधिकारीकताको दावी लगायतका माग राख्दै चरणबद्ध आन्दोलनका कार्यक्रम संचालन गर्दै आएको छ ।
आजको प्रदर्शनमा ५० हजारभन्दा बढी कार्यकर्ता उतार्ने आयोजकको दावी छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !