- सिरहा, पुस १२ गते आइतबार ।।
- जनप्रभाव – सम्बादाता
विश्वमै दुर्लभ मानिएको स्तनधारी सालकसहित होनडा कम्पनीको एउटा मोटरसाइकल सशस्त्र प्रहरी बलको टोलीले बरामद गरेको छ ।
सिरहा जिल्लाको उत्तरवर्ती चुरे जंगल क्षेत्र आसपासबाट सालकको तस्करी भइरहेको गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरी बल ७ नम्बर गण सिरहा र सशस्त्र प्रहरी बेस गोलबजारको सन्युक्त टोलीले जिउँदै सालकसहित मोटरसाइकल बरामद गरेको हो ।
सिरहा गोलबजार नगरपालिका वडा नम्बर – २ लालपुर फतिंग्रा डाँडाबाट तस्करीको सूचना पाएपछि सशस्त्र प्रहरी सहायक निरिक्षक रामअयोध्या महतोको नेतृत्वको टोलीले पछ्याएको थियो ।
स.१० प ३३३० नम्बरको मोटरसाइकलमा सवार व्यक्ति तीव्र गतिमा भाग्न खोजेपछि सशस्त्र प्रहरीको टोलीले पछ्याउन सुरु गरेकाे थियाे । तस्करीमा संलग्न व्यक्ति सशस्त्र प्रहरीले पछ्याउन सुरु गरेपछि मोटरसाइकल छाडेर भागेको सशस्त्र प्रहरी बल ७ नम्बर गण सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र गिरिले जानकारी दिनुभयो ।
सशस्त्र प्रहरी बलले मोटरसाइकल र तस्करीका लागि लगिँदै गरेको दुर्लभ सालक बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक गिरिले बताए । सालक तस्करीमा संलग्नबारे मोटरसाइकल दर्ता गरिएको व्यक्तिको यातायात व्यवस्था कार्यालय लहानबाट जानकारी लिएर अनुसन्धान अगाडि बढाइने गिरिले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !