- काठमाडौं, पुस १२ गते आइतबार ।।
- जनप्रभाव – सम्बादाता
चीनको सत्तारुढ दल चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) ले नेपाल भ्रमणमा उच्चस्तरीय टोली पठाउने भएको छ। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई धारमा देखिएपछि नेकपा नेताहरूसँग भेटवार्ताका लागि सिपिसीको टोली नेपाल आउन लागेको हो।
आइतबार सिपिसीको टोली नेपाल आउन लागेको नेकपाको प्रचण्ड-नेपाल पक्षका एक नेताले पुष्टि गरे। भ्रमण टोलीलाई सिपिसीको विदेश विभागका उपप्रमुख गुओ येझोउले नेतृत्व गर्ने बताइएको छ। टोलीमा चार सदस्य रहने छन्। टोली नेपालमा चार दिनसम्म बस्ने बताइएको छ।
‘सिपिसीको टोली आइतबार आउँदै छ। उनीहरूले माधव नेपाल, प्रचण्ड र केपी ओलीसँग समय मागेका छन्। भेट्छाैं भनेका छन्,’ ती नेताले नेपाल लाइभसँग भने।
टोलीले नेकपाको विभाजन रोक्नका लागि प्रयास गर्ने बुझिएको छ। ‘नेकपा विभाजन रोक्ने विषयमा कुराकानी गर्न सिपिसीको टोली आउन लागेको हो?’ भन्ने प्रश्नको उत्तरमा ती भने, ‘समय नै यस्तो भएकाले नेकपाबारे पनि नेताहरूसँग कुराकानी हुन्छ नै होला। दुई देशका कम्युनिस्ट पार्टीका नेताहरूबीचको भेटघाटमा यसबारे कुराकानी हुनु स्वभाविकै हो।’
नेपालका लागि चीनकी राजदूत होउ यान्छीले प्रतिनिधिसभा विघटनपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र विदेश विभाग प्रमुख माधवकुमार नेपालसँग भेट गरेकी थिइन्। राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि उनले भेट गरेकी थिइन्। भेटमा नेकपाको आन्तरिक राजनीतिबारे यान्छीले चासो व्यक्त गरेको बताइएको छ। यद्यपि प्रतिनिधिसभा विघटनपछि यान्छीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेको भने सार्वजनिक भएको छैन।
चिनियाँ टोलीका नेताहरूले भेट गर्ने नेकपा नेताहरुको सूची यान्छीले तयार गरिसकेको बुझिएको छ। चीन नेकपा एकताका पक्षमा रहेको सन्देश दिँदै आएको छ।
यसअघि नेकपा विभाजनको संघारमा पुग्दा पनि राजदूत यान्छीको सक्रियता बढेको थियो। तर यसपटक भने यान्छी र चीनको सद्भाव कतिसम्म सफल हुन्छ भन्ने सकिने अवस्था छैन। सिपिसी र नेकपाबीच समयसमयमा दोहोरो कुराकानी हुँदै आएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनका लागि गरेको सिफारिस राष्ट्रपति भण्डारीले अनुमोदन गरिदिएपछि नेकपा विभाजनको तहमा पुगेको हो।
फेसबुकबाट तपाईको प्रतिक्रिया !