- काठमाडौं : पुस ५ गते आइतबार ।।
- जनप्रभाव – सम्बादाता
गृह मन्त्रालयले शुक्रबार १८ प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । सरुवा हुनेमा ६ सहसचिव र १२ उपसचिव छन् । सहसचिव प्रमुख जिल्ला अधिकारी भएको पाँचथरमा उपसचिवलाई सरुवा गरिएको छ । पाँचथरमा सहसचिव अर्जुनकुमार शर्मा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) थिए । उनको ठाउँमा गृहमन्त्रालयको कर्मचारी प्रशासन शाखाका पुण्यप्रसाद ढकाललाई सरुवा गरिएको छ । शर्मालाई रामेछापमा सरुवा गरिएको छ ।
सहसचिवको दरबन्दी रहेको जिल्लामा उपसचिवलाई कायम मुकायम प्रअिज बनाउँदा बढुवा भएको ५ बर्ष पुगेको हुनुपर्ने लगायतका मापदण्ड छन् । छिट्टै सहसचिव बढुवा हुनेलाई मात्र कायममुकायम प्रजिअ बनाउने नीति रहँदैआएको छ । तर बढुवा भएको १ बर्ष पनि नपुगेका पुण्यप्रसाद ढकाललाई पाँचथरको प्रजिअ बनाइएको छ । उनी सहसचिव बढुवा हुने संभावना पनि नभएका उपसचिव हुन् ।
प्रधानमन्त्री केपी ओलीनिकट टेड युनियन नेता भएबापत शाखा अधिकृत हुँदासम्म गृहमन्त्रालयको विपत ब्यवस्थापन शाखामा हालीमुहाली गरी स्वदेशदेखि बिदेश भ्रमणको अवसर लिएका उनी उपसचिव बढुवा भएपछि कर्मचारी प्रशासन शाखामा बसेर सरुवामा समेत चलखेल गरेको आरोप लाग्दैआएको छ । तिनै ढकाललाई अहिले गुटको सेवा गरेबापत पुरस्कृत गरी सहसचिवको दरबन्दी रहेको पाँचथरको सीडीओका रुपमा पठाइएको छ । बिहीबारमात्रै सत्तापक्षको पक्षमा पेशागत उनले सोलुखुम्बु वा तेह्रथुम खोजे पनि गृहसचिव महेश्वर न्यौपानेले पाँचथरमा पठाएका छन् ।
ढकाल ट्रेड युनियनका नाममा मनग्ये लाभ लिने कर्मचारीभित्र पर्दछन् । निजामती सेवा ऐन नियममा ट्रेड युनियनको नेतालाई कार्यालय प्रमुखको जिम्मेवारी दिन मिल्दैन । तर ढकाललाई प्रधानमन्त्री ओलीको निकट भएकै आधारमा नियमावलीको मर्म र भावना विपरीत प्रजिअ बनाइएको छ ।
त्यस्तै बढुवा भएको १ बर्ष नपुगेका उपसचिव जयराज भण्डारीलाई तेह्रथुमको प्रजिअमा सरुवा गरिएको छ । उनी ढकालसँगै बढुवा भएका हुन् । उनी पनि नेकपामा सत्तानिकट उपसचिव मानिन्छन् । साविक एमालेका तर्फबाट वामदेव गृहमन्त्री हुँदा भण्डारी सधैं निजी सचिवालयमा बसी लाभ लिनेमा पर्दछन् ।
आधिकारिक ट्रेड युनियनका पूर्वअध्यक्ष ढकालले बिहीबारमात्रै आर्ट ग्यालरी बबरमहलमा प्रधानमन्त्री ओली पक्षको भेला राखेका थिए । जुन भेलामा नेकपाका केन्द्रीय सदस्य गोकुल बाँस्कोटा र सांसद नवराज सिलवालले प्रशिक्षण दिएका थिए । पार्टीभित्रको विवादमा पेशागत क्षेत्रबाट प्रधानमन्त्री ओलीको पक्षमा लाग्नुपर्नेबारेमा बाँस्कोटा र सिलवालले प्रशिक्षण दिएका थिए । भेलामा पाँचथरका सीडीओ पुन्य ढकालका अलावा निजामती कर्मचारी संगठनका अध्यक्ष केदारपप्रसाद देवकोटा, बरिष्ठ उपाध्यक्ष लेखनाथ कोइरालासहित ३० जना रहेको स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाललाई गाली गर्नमै अतिथिदेखि कर्मचारी नेताले समय खर्च गरेका थिए ।

















