- काठमाडौं : पुस ४ गते सनिवार ।।
- जनप्रभाव – सम्बादाता
नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) का कार्यकारी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली पहिलो पटक खुमलटार पुगेका छन्। पार्टीमा विवादले उग्र रुप लिएपछि प्रचण्डलाई फकाउन ओली खुमलटार पुगेका हुन्। ओली प्रधानमन्त्रीमा निर्वाचित भएपछि पहिलो पटक प्रचण्डलाई भेट्न उनको निवास खुमलटारमा पुगेका हुन्।
प्रचण्डका प्रेस संयोजक विष्णु पौडेलका अनुसार प्रधानमन्त्री ओली केहीबेर अघि ११ बजे खुमलटार आइपुगेका हुन्। अध्यक्ष ओलीले पछिल्लो विवादपछि सम्भवत पहिलोपल्ट प्रचण्डलाई भेट्न उनकै निवास खुमलटार पुगेका हुन्।
यसअघि प्रचण्डनै विवाद समाधानका लागि भन्दै गरिने छलफलका लागि बालुवाटार पुग्ने गरेका थिए। केहि समयदेखि नेकपाभित्रको विवाद मत्थर पार्ने उदेश्यले ओली त्यहाँ पुगेको नेकपा स्रोतको दाबी छ। ब्रेकफाष्ट मिटिङको नाम दिए पनि पार्टीभित्रको आन्तरिक किचलोको विषयमा छलफल हुने जनाइएको छ।
पूर्ण सुरक्षाका साथ प्रधानमन्त्री ओली त्यहाँ पुगेका छन्। पार्टी महासचिव विष्णु पौडेल भने बिहानै प्रचण्ड निवास पुगिसकेका थिए। गत बुधबारको स्थायी कमिटी बैठकमा सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी आध्यादेश र प्रचण्ड-नेपाल समूहले संसद बोलाउन शीतल निवासमा बोलाएको हस्ताक्षर फिर्ता गर्ने निर्णय भएको थियो। तर प्रधानमन्त्री ओलीले उक्त अध्यादेश फिर्ता लिने मानेका छैनन्।
अध्यक्ष प्रचण्डले बालुवाटार पुगेर ओलीलाई अध्यादेश फिर्ता लिन पटकपटक आग्रह गरेका थिए। प्रचण्ड-नेपाल पक्षले शुक्रबार प्रदेश १ का जिल्ला अध्यक्ष र सचिवहरुसँग छलफल गरेको थियो। उक्त छलफलमा अध्यादेश फिर्ता नलिने ‘एक्सन’ लिने चेतावनी प्रचण्डले दिएको खबर बाहिरिएको थियो। यस्तो पृष्पठभूमिमा ओली प्रचण्डलाई भेट्न खुमलटार पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !