- काठमाडौँ : पुस ३ गते शुक्रबार ।।
- जनप्रभाव – सम्बादाता
चिनी साहुबाट भुक्तानी नपाएका पीडित किसानहरु माइतीघर मण्डलामा आन्दोलन गरिरहेका छन् । सरकारले किसानको उखुको पैसा तिर्न चिनी मिलका मालिकहरुलाई निर्देशन दिइरहेको भनेको छ । तर, मालिकहरु भने अटेर गर्दै बसेका छन् ।
गृह मन्त्रालयले रकम मुक्तानी नगर्ने चिनी मिलका मालिकहरुलाई पक्राउ गर्न आदेश दिएको भए पनि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले भने एउटा विशेष खुलासा गरेका छन् । मन्त्री भट्टका अनुसार उखु किसानको भुक्तानी नदिने उद्योगीलाई पक्राउ नगर्न भन्दै नेताहरुको फोन आएको खुलासा गरेका छन् ।
प्रतिनिधिसभाको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा बोल्दै उनले यस्तो बताएका हुन् । मन्त्री भट्टले किसानको नाममा सामाजिक संजालमा ठूलो वकालत गर्ने नेताले नै आफूलाई फोन गरेर नपक्रन निर्देशन दिएको खुलासा गरेका हुन् । तर, उनले उक्त नेताको नाम भने खुलाएनन् ।
किसानहरु ऋण लिएर आफ्नो रकम प्राप्त गर्नको लागि काठमाडौँ आएर सडक आन्दोलन गरिरहेको बेला जिम्मेवार मन्त्रीले उक्त कुराको खुलासा गर्दा उखु किसानहरु झनै चिन्तित बनेका छन् । एकातिर चिनी मिलका मालिकलाई पक्राउ गर्ने भन्ने अर्कोतिर अर्को नेताले फोन गरेर नपक्रन भन्ने गर्दा अन्नतः पीडित किसानहरु झनै पीडित भएका छन् ।
यद्यपी, राजधानीमा आन्दोलनरत उखु किसानले आफूूहरुले पाउनुपर्ने सम्पूर्ण बक्यौता भुक्तानी नभएसम्म आन्दोलन जारी राख्ने व्यहोरासहितको पत्र सरकारलाई पठाएका छन् ।
उखु किसान सङ्घर्ष समिति सर्लाही र उद्योग मन्त्रालयबीच २०७६ पुस १८ गते किसानको बक्यौता भुक्तानी गर्नेसम्बन्धी पाँच बुँदे सम्झौता भएको थियो । सरकारले तोकेबमोजिमको मूल्यअनुसार २०७६ माघ ७ गतेभित्र चिनी उद्योग किसानलाई सम्पूर्ण भुक्तानी गर्ने सहमति भएको थियो । सरकार, उद्योगी र किसानबीच सहमति भएको १० महिना बितिसक्दा पनि अझै किसानले बक्यौता भुक्तानी पाएका छैनन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !