- काठमाडौं : पुस १ गते बुधबार ।।
- जनप्रभाव – सम्बादाता
सरकार विदेश लगानी आकर्षित गर्न करोडौं खर्च गरी लगानी सम्मेलन गर्छ । भाषण गर्दा मन्त्रीहरु विदेशी लगानीका लागि नेपाल उपयुक्त देश हो भन्छन् । विदेशमा जाँदा त्यहाँका उद्योगी ब्यवसायीसँग नेपालमा लगानीका लागि आग्रह गर्दछन् । तर ब्यवहारमा ठीक त्यसको बिपरीत काम सरकारका निकायबाट हुने गरेको छ । नेपालमा ठूला लगानीका उद्योग खोल्नका लागि लगानीबोर्ड, त्यसपछि उद्योग विभागमै जानुपर्छ । ती निकायमा जाँदा कर्मचारीतन्त्रले यति धेरै प्रक्रियागत झन्झट देखाइदिन्छन् कि नेपालमा लगानी आकर्षित होइन, बिकर्षित हुने गरेको छ ।
नेपालमा लगानीमैत्री वातावरण छैन भन्ने सन्देश पुगेको छ । ट्रेडमार्क चोरीमा त नेपाल बदनाम नै छ । चर्चित रङ उत्पादक जापानी कम्पनी कान्साई नेरोलेकको ट्रेडमार्क चोरी गर्ने कैलाशचन्द्र गोयलले उल्टै मुद्दा हालेर दुःख दिएका छन् । ट्रेडमार्क चोरी गर्ने गोयलको पहुँच जिल्लादेखि सर्वोच्चका न्यायाधीशको बेडसम्म भएकाले जापानी कम्पनी आफ्नै ट्रेडमार्क चोरी गर्नेबिरुद्ध मुद्दा लड्ने विडम्बनापूर्ण अवस्थामा छ । शुद्ध प्लस गुट्खाको ट्रेडमार्क उद्योग विभागदेखि अदालतबाटै चोरी गर्ने वीरेन्द्र कनौडियाको कब्जामा परेको छ । राजनिवास ब्रान्डको ट्रेडमार्क पनि गणपति टोबाकोले चोरी गरी दर्ता गरेर मुद्दा लडी आफ्नै पक्षमा फैसला गराएको अवस्था छ । ट्रेडमार्क समेत सुरक्षित गर्न नसक्ने देशमा विदेशी लगानी कसरी सुरक्षित हुन्छ भन्ने विश्वास विदेशीले गर्न सक्छन् ?
उद्योग विभागको कर्मचारीतन्त्र त झन् यति भ्रष्ट छ कि घुसमा कुरा नमिलेसम्म कुनै प्रक्रिया नै अगाडि बढाउन असम्भव छ । उद्योग विभागका महानिर्देशक अहिले जीवलाल भूसाल हुन् । उनी शाखा अधिकृत हुँदा पनि उद्योग विभागमै थिए । तत्कालीन महानिर्देशक तिलकराम शर्माका पालामा । उद्योग दर्ता शाखामा बसेर असुलीमा अनुभव हासिल गरेका उनी सहसचिव बढुवा हुनासाथ विभागमा पदस्थापन भएका हुन् । उद्योग विभागमा विदेशी लगानी शाखादेखि ट्रेड मार्क शाखा, उद्योग दर्ता शाखाको घुसखोरीको बारेमा जानकार थिए । सबैभन्दा बढी घुसखोरी हुने विदेशी लगानीको अनुमति दिने विदेशी लगानी शाखामा निर्देशक उदय गुप्तालाईं राखेका छन् । गुप्तामार्फत् विदेशी लगानीकर्तालाई जसरी हुन्छ सास्ती दिएर घुस असुली नगरेसम्म उद्योग दर्ता प्रक्रिया नै अगाडि बढ्दैन ।
नेपालमा २४ बर्षदेखि लगानी गर्दैआएका चिनियाँ नागरिक हुन्, यीङ हु सुआन (डेबिड) । उनले नेपालमा लगानी गर्ने क्रममा आफूले पाएको हन्डर र सास्ती पाएको उल्लेख गरेका छन् । उद्योग विभागका कर्मचारीले उद्योग अनुमति लिने क्रममा घूस मागेको उनले दुखेसो गरेका छन् । नेपालमा २४ वर्षदेखि व्यवसाय गर्दै आएका सुआनले उद्योग दर्ता प्रक्रियामै उद्योग विभागका कर्मचारीले घूस मागेको सार्वजनिक गरेका छन् ।
घूस मागेको संचारमाध्यममा किन जथाभावी बोलेको भन्दै विभागका कर्मचारीले धम्क्याएका तर सुआनले आफूसँग घूस मागेका कर्मचारीको प्रमाण सुरक्षित रहेको बताएपछि कर्मचारी एकाएक शान्त बनेका सुआनले खुलासा गरेका छन् ।
सुआनले आफूले भोगेको समस्याको बारेमा सञ्चार माध्यममा आफ्नो विचार सार्वजनिक गरेपछि उद्योग मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले चासो व्यक्त गरेका थिए । सचिव घिमिरेको निर्देशनपछि विभागले व्यवसायी सुआनलाई छलफल बोलाएको थियो ।
चिनियाँ नागरिक सुआनको निवेदन उपर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको औद्योगिक लगानी प्रर्वद्धन बोर्ड निर्णयबाट एक समिति समेत बनेको छ । मन्त्रालयका सहसचिव बलराम रिज्यालको नेतृत्वमा उक्त समिति बनेको हो । समिति बनेको ६ महिना बित्दा पनि समितिले बोर्ड समक्ष प्रतिवेदन पेश गर्न सकेको छैन ।
सुआनले कर्मचारीले घूस मागेको र कर्मचारीको असहयोगका कारण लगानी गर्न अप्ठेरो भएको बताएपछि उद्योग मन्त्रालयका सचिव घिमिरेले यसमा चासो राखेका थिए । उनले उद्योग विभागका महानिर्देशक जीबलाल भूसाललाई टेलिफोन गरेर सुआनको मुद्दाका बारेमा सोधेका थिए ।
सुआनले भोगेका समस्या विभागका महानिर्देशक जीबलाल भूसाल आउनुभन्दा पहिलाको भए पनि तत्कालै लगानीकर्तालाई बोलाएर छलफल गर्न सचिव घिमिरेले निर्देशन दिएका हुन् । सुआनले सुरुमा हेङ सेङ इन्टरप्राइजेज उद्योग दर्ता गरी काम सुरु गरेका थिए । सो उद्योग असफल भएपछि ग्यास उद्योग खोल्ने तयारी गरेका थिए । सो उद्योगले अनुमति नपाएपछि उनले औद्योगिक क्षेत्र निर्माण गर्ने तयारी गरेका थिए । त्यसको पनि स्वीकृति नपाएपछि उनले हाल २० जना लगानीकर्ताहरुसँग सेनन हर्बल मेडिसिन प्रोडक्सन दर्ता गरेका छन् । परिवर्तन हुन नसकेको कर्मचारीतन्त्रको ’घूस’ खाने प्रवत्तिले विदेशी लगानीकर्ता हैरान छन् । २०५३ सालमा नेपालमा ६ जना लगानीकर्ता लिएर आएका उनले हेङ सेङ इन्टरप्राइजेज उद्योग दर्ता गरेका थिए । काठमाडौंको धापासीमा खोलेको उक्त उद्योगले तयारी पोसाकका लागि धागो उत्पादन गथ्र्यो । ६ जनाको समूहले ५ लाख रोपनीको दरले २४ रोपनी जग्गामा १ करोड ५ लाख लगानी गर्यो । उद्योगले केही समय धागो अमेरिकासमेत निर्यात गर्यो तीन वर्ष सञ्चालन गरेपछि उद्योगको बजार राम्रो भएन । २ करोड २४ लाख लगानीको यो उद्योग अन्ततः बन्द हुन पुग्यो ।
त्यसपछि उनले नेपालमा ग्यास उद्योग खोल्नका लागि प्रक्रिया सुरु गरेका थिए । चिनियाँ प्रविधिको केमिकल ग्यास उत्पादन गर्ने उद्योगका लागि सबै कागजात तयार पार्न एक वर्ष लाग्यो । उनले उद्योग दर्ताका लागि उद्योग विभागमा निवेदन दिए । सुआनको टिमले ग्यास उद्योगमा ६ करोड अमेरिकी डलर (करिब ६ अर्ब रुपैयाँ) लगानी गर्ने तयारी गरेका थिए । उद्योग दर्ता गर्न विभागमा उनी सयौं पटक धाए । तर दर्ता गर्न पाएनन् ।
ग्यास उद्योग स्थापना गर्ने योजना असफल भएपछि उनले औद्योगिक क्षेत्र निर्माण गर्नका लागि प्रक्रिया अघि बढाए । महोत्तरीको गौशाला नगरपालिकाका मेयर शिवनाथ महतोसँग औद्योगिक क्षेत्र निर्माण गर्ने सम्झौतासमेत भयो । उनको टिम ३० लाख रुपैयाँ खर्चेर डीपीआर गर्ने तयारीमा लाग्यो । तर केन्द्र सरकारले यो कहाँ स्थानीय तहको अधिकार हो, पहिले हामीसँग सम्झौता गर्नुपर्छ भनेर रद्द गरिदियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !