- कपिलवस्तु : मङ्सिर ३० गते मंगलवार ।।
- जनप्रभाव : सम्बादाता
तालिमप्राप्त कुकुर जम्बोले तोरणबहादुर खड्कालाई देखेपछि उनलाई झम्टिन थाल्छ । जम्बोको यो संकेतले एउटा हत्याको गुत्थी नौ घण्टा नबित्दै सुल्झिएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी नवराज अधिकारी, अनुसन्धान शाखाका प्रमुख प्रहरी निरीक्षक प्रेम रेग्मी र वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले गरेको एउटा हत्याको अनुसन्धान नौ घण्टा नबित्दै सुल्झिएको छ ।
अनुसन्धान प्रहरी अनुसन्धान प्रविधियुक्त र साधनस्रोत सम्पन्न भएर मात्र हुँदैन, अनुसन्धानमा खटिने अधिकारीमा उपलब्ध साधनस्रोतको उच्चतम प्रयोगको चेतना पनि हुनुपर्छ ।
वडा प्रहरी कार्यालय चन्द्रोटामा शनिबार राती नौ बजे शिवराज नगरपालिका–५ स्थित स्थानिय मकबुल मियाँको घर पछाडी एक महिलाको शव रक्ताम्य अवस्थामा भेटिएको सूचना आउछ ।
वप्रका चन्द्रौटाले तत्काल घटनाको जानकारी जिल्ला प्रहरीलाई दिन्छ ।
जानकारी पाए पश्चात् एसपी अधिकारी र प्रनि रेग्मीसँग आवश्यक उपकरण लिएर तत्काल घटनास्थल पुग्छन् ।
घटनास्थल मियाँको घर पछाडीको आगँन थियो । त्यहाँ उनकै घरमा भाडामा बस्ने ५९ वर्षीय शुशिला खड्का मृत अवस्थामा थिइन् । उनको टाउकोमा चोट थियो ।
घटनास्थलमा रहेको प्रहरी टोलीले घटना हत्या भएको ठहर गर्छ । रातभरी घटनास्थललाई सुरक्षा घेरामा राखिन्छ ।
मृत्तकका आफन्त र छरछिमेकीसँग सोधपुछ थालिन्छ । साथै जिल्लासँग जोडिएका अन्य जिल्ला र नेपाल–भारत सीमामा चेकजाँच तिब्र पारिन्छ ।
‘घटनास्थल मुचुल्का अघि तालिमप्राप्त कुकुरको प्रयोगगर्ने निर्णय भयो,’ एसपी अधिकारीले भने, ‘तर हत्यामा संलग्नले सीमा काटने आशंका पनि थियो, नाकामा कडिकडाउ पनि सँगसँगै भयो ।’
कर्णाली प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर बिहान ६ बजे घटनास्थल ल्याइन्छ ।
तालिमप्राप्त कुकुर जम्बोले घटनास्थल सुघ्छ । त्यसपछि एकफन्का खेतमा लगाएर शुशिलाकै डेरा तर्फ अगाडी बढछ् ।
डेरामा निरास भएर रुदै बसेका शुशिलासँगै बस्ने भतिजा तोरणबहादुर खड्कालाई देखेपछि जम्बो उनलाई झम्टिन थाल्छ । जम्बोको यो संकेत अनुसन्धान अधिकारीहरुका लागि काफि थियो ।
प्रहरी टोलीले तोरणबहादुरलाई एकान्तमा लगेर सोधपुछ थाल्छन् । सुरुमा त उनी नाइनास्ती गर्छन् । जव प्रहरीले कडाईका साथ सोध्न थाल्छ । उनले सत्य बक्न थाल्छन् ।
घटनाको रात तोरणबहादुर र शुशिलालेसँगै मदिरा सेवन गरेका थिए । रक्सीको मात चढदै थियो । तर रक्सी सक्कियो ।
‘आरोपीले मृत्तकसँग थप मादक पदार्थ ल्याउन ५० रुपैयाँ मागे,’ प्रनि रेग्मीले भने, ‘उनले पैसा दिन आनकानी गरेपछि बादविवाद भएको देखिन्छ ।’
प्रहरीसँगको प्रारम्भीक बयानमा आरोपी २३ वर्षीय तोरणबहादुरले सुरुमा इट्टाले प्रहार गरेको बताएका छन् । त्यसपछि घाईते भएकी फूपूलाई मसला पिध्ने सिलौटोको लोहोरेले हानेर हत्या गरेको बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !