“पहिलेदेखि लागू हुँदै आएको सुरक्षा योजनालाई अझै कडाइका साथ पालना गर्न भनिएको छ, सुरक्षा चुनौती विष्लेषण गरेर संयुक्तरूपमा टोली परिचालन गर्ने कुरालाई विशेष ध्यान दिने गरी निर्देशन भएको छ ।”
-
काठमाडौं, मङ्सिर २५ गते बिहीबार ।।
-
जनप्रभाव – सम्बादाता
नेपाल प्रहरीले मुलुकभर सुरक्षा सतर्कता बढाउन निर्देशन दिएको छ । कानूनविपरीतका आपराधिक घटना बढ्न सक्ने जनाउँदै उसले आफ्ना मातहतका ७७ वटै जिल्लाका प्रहरी प्रमुखलाई उच्च सावधानीका साथ सुरक्षा सतर्कता बढाउन भनेको हो ।
प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक ( एसएसपी ) वसन्तबहादुर कुँवरले भने, “पहिलेदेखि लागू हुँदै आएको सुरक्षा योजनालाई अझै कडाइका साथ पालना गर्न भनिएको छ, सुरक्षा चुनौती विष्लेषण गरेर संयुक्तरूपमा टोली परिचालन गर्ने कुरालाई विशेष ध्यान दिने गरी निर्देशन भएको छ ।”
यही मङ्गलबार मोरङको मिक्लाजुङमा शिक्षक राजेन्द्रकुमार श्रेष्ठको बर्बतापूर्ण तरिकाले हत्या भएको थियो । उक्त हत्यामा नेत्रविक्रम चन्द समूहको संलग्नता रहेको प्रहरीले जनाएको छ । घटना भएको भोलिपल्ट बुधबार गृह मन्त्रालयले तीनवटै सुरक्षा निकायमा प्रमुखसँग ‘सुरक्षा ब्रिफिङ’ लिएको थियो । उक्त ब्रिफिङ नियमित भएको गृह प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए ।
यसअघि सो समूह विभिन्न भौतिक संरचनालाई क्षति पुर्याउन विष्फोट गराउने क्रियाकलाप गर्नमा बढी उद्यत थियो । उपत्यकामा बम पड्काउने क्रममा केही सर्वसाधारण र केही आफ्नै कार्यकर्तासमेत मारिएका थिए । गतिविधि आपराधिक हुन थालेपछि सरकारले विसं २०७५ फागुन २८ गतेबाट चन्द समूहका गतिविधि रोक्ने निर्णय गरेको थियो । यसपछि प्रहरीले उपल्लोस्तरका नेतासहित झण्डै दुई हजारलाई पक्राउ गरी कारवाही गरेको थियो । तीमध्ये एक हजार ८९४ मुद्दा दर्ता भएको छ । पक्राउ परेकामध्ये धेरै छुटेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !