- वीरगञ्ज : मङ्सिर २३ मंगलवार ।।
- जनप्रभाव – सम्बादाता
जन्ति जान हिँडेका युवकको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । कालिकामाई गाउँपालिका–१ तीनडोबिया टोलका २२ वर्षीय राजेश पटेल र ३१ वर्षीय सुरेन्द्र पटेल पक्राउ परेका हुन् ।
उनीहरुलाई सँगै जन्ती गएका २६ वर्षीय एमामुल हुसैनको हत्या अभियोग लागेको छ । उनीहरुविरुद्ध सोमबार पर्सा जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्धामा म्याद थप गरेर अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक दिपक थापाले जानकारी दिनु भयो ।
धोबिनी गाउँपालिका–१ भिखमपुर जन्ती जान भनी निस्केका उनी बेहुलीको घरमा नपुगेपछि खोजी सुरु गरिएको थियो । तीन दिनपछि धोबिनी गाउँ पालिका– २ स्थित नहरमा उनको शव फेला परेको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तले आफन्त मार्फत सँगै जन्ती गएका दुई जनालाई प्रहरी कार्यालयमा झिकाएर अनुसन्धान सुरु गरिएको बताइन् । ‘घटना पछि सँगै जन्ति गएका उनीहरु फरार थिए, आफन्त मार्फत बोलाएर अनुसन्धान प्रक्रिया सुरु गरेका छौं,’ उनले भनिन् । ‘ अनुसन्धान पछि बाँकी कुरा खुल्दै जान्छ ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया !