
- जनकपुरधाम : मङ्सिर २१ गते आइतबार ।।
- जनप्रभाव : सम्बादाता
प्रहरी महानिरीक्षक ( आईजीपि ) शैलेश थापा क्षेत्रीले आज २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र २ नम्बर प्रदेश अन्तर्गत २ नं. प्रदेश दंगा नियन्त्रण प्रहरी गण ढल्केवरको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई व्यवसायीक प्रहरी सेवा प्रवाहका विषयमा निर्देशन सम्बोधन समेत गर्नुभएको छ ।

नेपाल प्रहरी प्रमुख शैलेश थापा क्षेत्री , २ नं. प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक धिरज प्रताप सिंह , बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख, संघीय प्रहरी इकाई कार्यालय, जनकपुरधामका प्रमुख, २ नं. प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर (हाल राजविराज) का समादेशक, २ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रमुख , २ नं. प्रदेश सशस्त्र प्रहरी गण जनकपुरधाम २ नं. प्रदेश दंगा नियन्त्रण प्रहरी गण ढल्केवरका प्रमुख र जिल्ला प्रहरी कार्यालय सिरहा , सप्तरी , धनुषा , महोत्तरी , सर्लाही , बारा र पर्साका प्रहरी प्रमुखहरु समेतको उपस्थितीमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले विद्यमान शान्ति सुरक्षाको अवस्था तथा समसामयिक विषयबस्तुहरुको सम्बन्धमा जानकारी लिईएको थियो ।

प्रहरी महानिरीक्षक थापाले नेपाल प्रहरी कार्य योजना २०७७, प्र.ह./प्र.ज. लक्षित योजना कार्यान्वयन, ने.क.पा. (बिप्लव) समुहको गतिविधी नियन्त्रण, नदी जन्य पदार्थको अवैध उत्खनन नियन्त्रण, फौजदारी कसुरमा कानूनी कठोरता, फरार प्रतिवादीहरुलाई कानूनी दायरामा ल्याउन विशेष अभियान संचालन गर्ने, महिला बालबालिका तथा जेष्ठ नागरिकहरुको सेवा प्रवाहमा विशेष प्राथमिकता, भ्रष्टाचार विरुद्धको शुन्य सहनशिलताको नीति अवलम्बन गर्ने लगायतका समसामयिक विषयबस्तुको सन्दर्भमा निर्देशन दिनु भएको छ ।

प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्दै प्रहरी महानिरीक्षकले समयको परिवर्तन संगै आम नागरिकको प्रहरी प्रतिको आस्था र विश्वास एवं अपेक्षा समेत बढ्दै गईरहेकाले उच्च व्यवसायीक निष्ठा र पूर्ण आचरणयुक्त प्रहरी सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ ।

साथै प्रहरी कार्यालयमा आउने आम नागरिकका गुनासो र विविध समस्याको समाधानका लागि प्रहरी नागरिक प्रति उत्तरदायी भई जनतामा प्रहरी प्रति अपनत्वको भावना विकास साथै प्रहरी हाम्रै लागि हो भन्ने धारणाको विकास हुने गरी सेवा प्रवाह गर्न समेत निर्देशन गर्नुभएको छ ।
२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख प्रहरी नायव महानिरीक्षक धिरज प्रताप सिंहले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट प्राप्त निर्देशनहरुको कार्यान्वयन गर्ने प्रतिबद्धता गरेका छन् ।



