-
काठमाडौं : मङ्सिर १७ गते बुधबार ।।
-
जनप्रभाव : सम्बादाता
नेपाल प्रहरी महानिरीक्षक नियुक्तिमा हुने चलखेल सधै प्रहरीको ठेक्कामा जोडिने गर्दछ । प्रहरीले वार्षिक करिब २ अर्बको ठेक्का गर्दछ । त्यसमध्ये आधा जसो कपडा लगायत स्केलका सामान खरिदमा खर्च हुन्छ । ती सामान खरिदमा ठूलो चलखेल हुन्छ । प्रहरीसँग सेटिङ मिलाएर सस्तोमा टेण्डर हाल्ने अनि गुणस्तरहीन सामान भिराउने ।
प्रहरीलाई १० प्रतिशत कमिसन दिएपछि गुणस्तरहीन कपडा पनि गुणस्तरीय भनेर प्रमाणित गरिदिने । यसरी प्रहरीले नेतृत्वले करोडौं कमाउने र त्यही पैसा सबैतिर बाड्ने गर्दथे । जसको परिणाम एक वर्षलाई पु¥याउनुपर्ने प्रहरीको कपडा २ महिनामा नै फाट्थ्यो । यस्तो समस्या हल गर्न प्रहरी प्रधान कार्यालयले पहल थालेको छ । तर, ठेकदारबाटै असहयोग भएको छ ।
ठेकदारमा हुने चलखेल रोक्न प्रहरी प्रधान कार्यालयले आइतबार स्केलका सामानको नयाँ स्पेशिफिकेसन सार्वजनिक गरेको छ । नयाँ स्पेसिफिकेसनअनुसार प्रहरीले अब गुणस्तरीय कपडा पाउनेछन् । यसका लागि पारदर्शी रुपमा टेण्डर गर्न लागिएको छ । तर, सेटिङमा ठेक्का पार्दै आएका ठेकदारहरुले यतिबेला संगठित रुपमा प्रहरीलाई असहयोग गरिरहेको स्रोत बताउँछ ।
विगतमा कतिसम्म चलखेल हुन्थ्यो भन्ने हालैको एउटा घटनाले समेत देखाएको छ । ठेकदार पशुपति मुन्काले गुणस्तर परीक्षणमै प्रहरीलाई झुक्याउन खोजेका छन् । उलन पाइन्टसम्बन्धि कपडाको ठेक्का पाएका क्राउन टेक्सटाइल कम्पनीका सञ्चालक पीताम्बर मुन्काले प्रहरीलाई नै ठग्ने प्रयास गरेका हुन् ।
२ वर्षअघि मुन्काको कम्पनीले करिब २६ हजार मिटर ऊनी कपडा खरिद गर्ने ठेक्का पाएको थियो । उनले कपडा बुझाएपछि प्रहरीले परीक्षणका लागि नयाँदिल्लीमा नमुना पठाएको थियो । परीक्षणमा गुणस्तरमा फेल भएपछि उनको कपडा नलिने निर्णय भएपनि उनले अनेक चलखेल गरेका थिए ।
प्रहरीको निर्णयविरुद्ध सुरुमा उनी अदालत गए । आफ्नो रोहवरविनै नमुना संकलन गरी परीक्षणमा दिएको बताउँदै फेरि परीक्षण गर्नुपर्ने गरे । नमुना संकलन गर्दा उनलाई रोहवरमा नराखेकाले अदालतले उनकै पक्षमा आदेश दियो । त्यसपछि प्रहरीले फेरि उनलाई रोहवरमा राखी नमुना परीक्षणमा पठायो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !