-
डीआईजी पोखरेल उपप्रधानमन्त्री ईश्वर पोखरेलका नातेदारसमेत हुन् । उनलाई आईजीपी बनाउनकै लागि गृहमन्त्री र आईजीपीलाई समेत थाहा नदिएर एआईजीको दरबन्दी थप गरिएको छ ।
-
एकै ब्याचका सबैलाई पछि पारेर एकजनालाई मात्रै १८ महिनाअघि नै अगाडि बढाउँदा त्यसको प्रभाव सकारात्मक नहुने पूर्वप्रहरी अधिकारी बताउँछन् ।
-
काठमाडौं : मङ्सिर १७ गते बुधबार ।।
-
जनप्रभाव – सम्बादाता
नेपाल प्रहरी नायब महानिरीक्षक ( डीआईजी ) विश्वराज पोखरेल एआईजीमा बढुवाका लागि सिफारिस भएसँगै भावी प्रहरी महानिरीक्षक ( आईजीपी ) को दौडमा समकालीनको यात्रा करिब टुंगिएको छ । सोमबार साँझ बढुवा समितिको बैठकले डीआईजी पोखरेललाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । योसँगै भावी आईजीपीमा अरु प्रतिस्पर्धीको बाटो बन्द भएको हो ।
नेपाल प्रहरीमा थप गरिएको एउटा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दीमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) पोखरेल सिफारिसमा परेका हुन् । प्रहरीको इतिहासमा १८ महिनाअघि नै आईजीपीको लगभग टुंगो लागेको सम्भवत : यो पहिलो घटना हो ।
अब नेपाल प्रहरीमा पोखरेलसहित जनपदतर्फ चार एआईजी हुनेछन् । अरु तीन एआईजीहरु हरिबहादुर पाल, निरज शाही र प्रद्युम्न कार्की हालका प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीकै ब्याची हुन् ।
प्रहरी प्रमुख क्षेत्रीको कार्यकाल १९ वैशाख २०७९ सम्म छ । उनीसँगै तीनजना एआईजीले पनि सोही मितिदेखि अनिवार्य अवकाश पाउनेछन् । यस्तोमा पोखरेल आईजीपीको निर्विकल्प एकल प्रतिस्पर्धी हुन सक्नेछन् । ‘चेन अफ कमान्ड’मा चल्ने प्रहरी संगठनमा राजनीतिक चलखेल नयाँ विषय भने होइन ।
प्रहरी नायब महानिरीक्षक पोखरेल उपप्रधानमन्त्री ईश्वर पोखरेलका नातेदारसमेत हुन् । उनलाई आईजीपी बनाउनकै लागि गृहमन्त्री र आईजीपीलाई समेत थाहा नदिएर एआईजीको दरबन्दी थप गरिएको चर्चा छ । एआईजीमा पोखरेलको ब्याचबाट एकल बढुवाले अन्यको कार्यसम्पादनमा समेत नकारात्मक असर गर्नसक्ने प्रहरी अधिकारीको चिन्ता छ ।
अन्तिम समयसम्म गृहमन्त्री रामबहादुर थापा थपिएको एआईजी दरबन्दीबारे रुष्ट रहेको गृहस्रोत बताउँछ । तर, उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्रीको ‘पावर’ लगाउँदै एआईजीमा आफूले चाहेको पात्रलाई बढुवा गरेको कतिपयको ठहर छ । डीआईजी सुशील भण्डारीको काभ्रेमा सवारी दुर्घटनामा निधन भएपछि उनलाई तत्कालीन रक्षामन्त्री पोखरेलकै दबाबमा १९ वैशाख ०७६ मा एसएसपीबाट डीआईजीमा बढुवा गरिएको थियो । जबकि, पोखरेलभन्दा सिनियर ब्याचका अरु एसएसपी थिए । तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समेत पोखरेललाई डीआईजी बनाउन नसकिने अडान लिएका थिए ।
प्रहरी निरीक्षक, डीएसपी र एसपी हुँदा वरीयतामा पोखरेल अगाडि थिएनन् । तर, एसपीबाट एसएसपी हुँदा उनी अस्वाभाविकरुपमा १ नम्बरमा आए । त्यसपछि उनले पछाडि फर्केर हेर्नुपरेन । तर, प्रतिस्पर्धाका आधारमा नेतृत्व छानिने प्रहरीमा एकजनालाई मात्रै एआईजी बनाउँदा अरु प्रतिस्पर्धीको आईजीपीको सम्भावना समाप्त भएको छ । यसले उनीहरुको मनोबलमा समेत प्रत्यक्ष प्रभाव पारेको छ । जसको असर सिंगो प्रहरी संगठनमा पर्नेछ ।
वर्तमान आईजीपी क्षेत्री स्वयं एआईजी थप्ने पक्षमा नरहेको बताइन्छ । पछिल्लो निर्णयले उनलाई समेत नैतिक संकटमा पारेको छ । पोखरेलको ब्याचका सहकुल थापा, धिरजप्रताप सिंह, वसन्त लामा, रवीन्द्र धानुक, उत्तमराज सुवेदी हाल डीआईजी छन् । उनीहरु सबैलाई भावी आईजीपीको प्रतिस्पर्धीको रुपमा हेरिएको थियो ।
थापा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), सिंह प्रदेश नम्बर – २, लामा वाग्मती प्रदेश, धानुक लुम्बिनी र सुवेदी सुदूरपश्चिम प्रदेशको प्रहरी प्रमुख छन् । प्रहरीकै एक उच्च अधिकारी भन्छन्, “उनीहरु सबै व्यावसायिक प्रहरी अधिकृत थिए । पोखरेल डीआईजीमै १ नम्बरमा थिए । यस्तोमा उनी एआईजी नभएपनि आईजीपीका बलिया दाबेदार थिए । तर, आईजीपी बनाउनकै लागि एआईजीको दरबन्दी सिर्जना हुँदा त्यसको असर अन्य डीआईजी र संगठनमै परेको छ ।”
फेसबुकबाट तपाईको प्रतिक्रिया !