-
रौतहट : मङ्सिर १५ गते सोमबार ।।
-
जनप्रभाब : सम्बादाता
आफ्नो इज्जत जोगाउन बुबाले आफ्नै छोरीको हत्या गर्न लगाएको खुलासा भएको छ । गत कात्तिक २६ गते जिल्लाको माधवनारायण नगरपालिका–७ लौकाहा टोलका राम अयोध्या साह तेलीको १७ वर्षीया छोरी अमृता कुमारी साहको आफ्नै माइतीघरमा आमासँग सुतिरहेकी अवस्थामा गोली हानी हत्या गरिएको थियो ।
माइतीघरमा आमासँग सुतिरहेकी अमृताको आमा ट्वाइलेट गएकी बेलामा अज्ञात व्यक्तिहरु उनको घरमा छिरेर दाहिने पट्टिको कन्चटमा गोली हानी हत्या गरी फरार भएका थिए ।
हत्या भएलगतै प्रहरीले सबै पक्षबाट अनुसन्धान थालेको थियो । अनुसन्धानको क्रममा अमृताको हत्यामा उनकै बुबा राम अयोध्या साहको संलग्नता रहेको खुलासा भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक ( एसपी ) सिद्धी बिक्रम शाहले बताए ।
उनका अनुसार मृतक साहको सोही स्थानका ३० वर्षीय थारु भन्ने सोसिन्द्र प्रसाद भगतसँग ३ वर्षदेखि प्रेम सम्बन्ध थियो, तर उनका परिवारले २०७६ फागुनमा सर्लाही जिल्लाको विष्णु गाउँपालिका–३ बस्ने रुपेश साहसँग जबरजस्ती मागी बिवाह गराइदिएका थिए ।
तर, बिहे भएको केही महिनापछि पति रुपेश साहमाथि छुरा प्रहार गरी ज्यान मार्ने प्रयास गरेपछि उनी माइतमै बस्दै आएकी थिइन् । उक्त घटना लगतै मृतक अमृता र उनकी प्रेमी सोसिन्द्रमाथि पति रुपेशको जाहेरीको आधारमा ज्यान मार्ने उद्योग अन्तर्गत जिल्ला प्रहरी कार्यालय सर्लाहीमा मुद्दा दर्ता भएको थियो ।
सोही मुद्दामा प्रहरीले दुबैजनालाई फरारको सूचीमा राखेर खोजतलास जारी राखेको थियो । अमृता र उनको पति रुपेसबीच २०७७ साल असारमा सम्बन्ध बिच्छेद भएपश्चात अमृता र सोसिन्द्र बीचमको प्रेम सम्बन्ध झन झाङ्गिएको थियो । उनीहरु दुबै जनाले जसरी भएपनि बिहे गरेर छाड्ने अडान लिएपछि अमृताको परिवारमा तनावको स्थिति सृजना भएको थियो ।
ज्यान मार्ने उद्योगमा दुबै जनालाई खोजिरहेको अवस्थामा प्रहरीले आफ्नो छोरीलाई पक्राउ गरेर मुद्दा चलाए जेल जाने, पक्राउ नगरे प्रेमीसँग बिबाह गरेर जाने वा दुबै अवस्था नआएपनि छोरीलाई घरमै राख्दा गाउँघरमा कुरा काट्ने र समाजबाट अपहेलित हुने डरले बुबा राम अयोध्याले आफ्नो अर्काे ज्वाँई लक्ष्मण साहसँग मिलेर छोरी मार्ने योजना बनाएको प्रहरी उपरीक्षक शाहले बताए ।
उनीहरुले जिल्लाको परोहा नगरपालिका–४ बस्ने छोटेलाल साहलाई एक लाख पचास हजार रुपैयाँ दिई भारतमा लगि मार्ने योजना बनाएको खुल्न आएको प्रहरीले जनाएको छ ।
गत कात्तिक ९ गते अमृतालाई उपचार गर्न भन्दै भारतमा लगेर मार्ने योजना भारतमा निर्वाचन भइरहेको अवस्थामा सुरक्षा व्यवस्था कडा भएका कारण उक्त योजना सफल हुन पाएन ।
त्यसपछि पुनः देवाही गोनाही नगरपालिकाका–२ लक्ष्मिनीया करुनीया बस्ने कैमुल देवानलाई एक लाख दिई गोली हानी हत्या गर्न लगाएको भन्ने खुल्न आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए ।
‘राम अयोध्याले आफ्नी श्रीमतीलाई कि मलाई रोज कि छोरीलाई रोज भन्दै छोरी मार्न सहयोग गर्न मनाएको र सहयोग नगरे आफू झुण्डिएर मर्ने धम्की दिएका थिए’ प्रहरी नायव उपरीक्षक श्रेष्ठले भने, ‘उनले श्रीमतीलाई त ढोका खोलेर बस्नु, अनि मान्छेहरु आउँछन्, उनीहरुले जे गर्छन् गर्न दिनु भनेर आदेश दिएका थिए । सोही अनुसार राति कैमुल देवानसहित ४ जनाको समूह आएर अमृताको गोली हानी हत्या गरेको पाइएको छ ।’
प्रहरीले अमृताको हत्यामा संलग्न भएको आरोपमा अमृताको बुबा रामअयोध्या साह, आमा सीता देवी साह, देवाही गोनाही नगरपालिका–२ लक्ष्मिनीया करुनिया बस्ने अन्दाजी ६० वर्षीय शेख अलियास, ४० वर्षीय बहुदल भन्ने ईस्लाम अंसारी, ३६ वर्षीय शेख ईम्ताज, परोहा नगरपालिका–४ का अन्दाजी ४५ वर्षीय छोटेलाल साहलाई पक्राउ गरी जिल्ला अदालतबाट ज्यान सम्बन्धी कसूरमा ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !