- गोरखा : मङ्सिर १२ गते शुक्रबार ।।
- जनप्रभाब – सम्बादाता
गण्डकी गाउँपालिका-४ फुजेलबाट तीनजना जुवाडे पक्राउ परेका छन् । स्थानीय जनक भण्डारीको घरमा कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई बुधबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
पक्राउ पर्नेमा घरधनी भण्डारी, धादिङको ज्वालामुखी गाउँपालिका-२ का २२ वर्षीय राजकुमार थापा र वडानम्बर ३ का ६३ वर्षीय खुमबहादुर अर्याल रहेका छन् ।
‘जुवा खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा राति दश बजे सादा पोशाकमा डीएसपीसहितको टोली पठाएको थिए,’ जिल्ला प्रहरी प्रमुख एसपी सुरेन्द्रबहादुर गुरुङले भने, ‘प्रहरीलाई देखेपछि स्थानीय समेत मिलेर ढुङ्गामुढा गरेछन्, पछि म आफै थप टोली लिएर त्यहा पुगी जुवाडेहरुलाई नियन्त्रणमा लिएको हुँ ।’
केही जुवाडेहरु भाग्न सफल भएको उनले बताए । ‘स्थानीय भण्डारीको घरको आगनमा २५ जनाभन्दा बढी जम्मा भएर कौडा खेलिरहेका रहेछन्, हामी आएको थाहा पाएपछि केही भागे तीन जनालाई मात्र समाउन सफल भयौ,’ उनले भने । फरार रहेकाहरुको खाजी कार्य भइरहेको उनले बताए ।
जुवाको खालबाट २ लाख ७१ हजार ५२० रुपैयाँसहित १६ थान कौडा र एउटा नाङलो पनि बरामद भएको एसपी गुरुङले बताए ।
पक्राउ परेकाहरु विरुद्ध मुद्दा दर्ता गरी दश दिनको म्याद थप भइ अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !