- काठमाडौं : मङ्सिर ८ गते सोमबार ।।
- जनप्रभाब : सम्बादाता
नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) अध्यक्ष पुष्पकमल दाहालले अब अध्यक्षद्वयको साझा प्रतिवेदन आउने सम्भवाना नरहेको बताउनुभएको छ ।
आज पार्टीभित्रको विवाद मिलाउन पुगेका स्थायी कमिटी सदस्यसँगको भेटमा अध्यक्ष दाहालले साझा प्रतिवेदन आउने कुनै सम्भावना नभएको बताउनुभएको हो ।
दाहाल निकट मानिने टोपबहादुर रायमाझी र हरिबोल गजुरेललाई दाहालले आफूले तयार पारेको प्रतिवेदन नराम्रो नभएको दावी गर्दै अध्यक्ष ओलीले पनि छुटै प्रतिवेदन ल्याउने भएकाले साझा प्रतिवेदन आउने सम्भावना नभएको बताउनुभएको थियो । अध्यक्ष दाहाललाई पार्टी फुटको अवस्था आउन नदिन गरिएको आग्रहमा दाहालले अध्यक्ष ओलीले ल्याउने प्रस्तावले नै बाँकी भविष्य तय गर्ने जवाफ दिनुभएको थियो ।
कात्तिक २८ गते अध्यक्ष दाहालले सचिवालय बैठकमा छुट्टै प्रस्ताव पेश गर्नुभएको थियो । उक्त प्रस्तावमा अध्यक्ष ओलीमाथि आरोप लगाएपछि ओलीले पनि त्यसको प्रतिउत्तर दिने भन्दै १० दिनको समय माग्नुभएको थियो । सो समय आगमी शनिवार सकिँदैछ भने सोही दिन बस्ने सचिवालय बैठकले नै बाँकी निधो गर्ने दाहालको संकेत थियो । पछिल्लो समय ओली र दाहालबीच संवाद गराएर सहमति कायम गराउन दोस्रो तहका नेताहरुले सक्रियता देखाएका छन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं स्थायी समिति सदस्य शंकर पोखरेल, स्थायी समिति सदस्य घनश्याम भुसाल, जनार्दन शर्मा र वर्षमान पुन लगायतका नेताहरुले पहल गरिरहेका छन् । साथै, दुवै अध्यक्षलाई भेटेर पार्टी फुटको अवस्था आउन नदिन भनिरहेका छन् ।
भदौ २६ मा स्थायी समितिले गरेको निर्णय ओलीले कार्यान्वयन नगरेपछि नेकपामा विवाद चुलिएको हो । सरकार सञ्चालनमा एकलौटी गरेका ओलीले पार्टीमा समेत छलफल नगरी एकल निर्णय गर्न थालेपछि कार्यकारी अध्यक्ष दाहालसहितका बहुमत सचिवालय सदस्यहरु एक ठाउँ उभिएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !