- काठमाडौं : मङ्सिर ३ गते बुधबार ।।
- जनप्रभाब न्यूज
नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखा परेको चरम प्रकारको अन्तरसंघर्षप्रति गम्भीर चिन्ता प्रकट गरेको छ । नेकपा (मसाल)ले मंगलबार (आज) प्रेस विज्ञप्ती जारी गर्दै सत्तारुढ (नेकपा) भित्र देखा परेको चरम प्रकारको अन्तरसंघर्षप्रति गम्भीर चिन्ता प्रकट गरेको गरेको हो ।
जारी विज्ञप्तीमा भनिएको छ, ‘हाम्रो चिन्ताको विषय त्यसद्वारा, अर्थात् नेकपाको अन्तरसंघर्ष वा त्यसको परिणामस्वरुप देशको राजनीतिमा पर्न सक्ने सम्भावित असरप्रति नै हो । यदि नेकपाभित्रको अन्तरसंघर्षको परिणामस्वरुप नेकपामा फुट हुन्छ वा त्यसको सरकारको विघटन हुन्छ भने त्यसको दुष्परिणाम लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता र राजनीतिक स्थिरतामा पनि पर्ने सम्भावना रहनेछ ।’
यसका साथै नेकपा (मसाल)ले त्यस्तो हुन नदिनका लागि लगातार नेकपाको एकता तथा सरकारको स्थायित्वमा जोड दिँदै आएको र अहिले पनि उक्त नीति कायम रहेको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले जारी गर्नुभएको विज्ञप्तीमा थप भनिएको छ, ‘जुन तत्वहरुले गणतन्त्र वा धर्मनिरपेक्षतालाई खतम गर्न चाहन्छन्, उनीहरु नेकपाभित्र देखा परेको अन्तरसंघर्षबाट प्रसन्न नै भइरहेका छन् र उनीहरुले यो चाहन्छन् कि त्यो अन्तरसंघर्षको परिणामस्वरुप नेकपामा फुट होस् र त्यसको सरकारको विघटन होस् ।
त्यो अवस्थामा यदि देश एक वा अर्को प्रकारले प्रतिगमनतिर जान्छ भने त्यसलाई उनीहरुले स्वागत नै गर्नेछन् र नेकपाको सरकारलाई अपदस्थ गराउन जोड दिनुका पछाडिको उनीहरुको मुख्य उद्देश्य पनि त्यही हो ।’
त्यस्तै, सत्तारुढ नेकपाभित्र व्यक्तिगत रुपमा एक–अर्कालाई निम्नस्तरका गाली गलौज गर्ने प्रवृत्तिले मसाललाई दुखित बनाएको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । त्यस्तै उक्त प्रवृत्ति नेपालको राजनीति र स्वयं कम्युनिस्ट आन्दोलनमा पनि देखा परेको निम्न सांस्कृतिक स्तरको परिणाम भएको मसालको ठहर छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !