जाहेरी दिएको चार दिन वित्न लाग्दा पनि प्रहरीले आरोपीहरुलाई पक्राउ गर्न सकेको छैन
- पर्सा : मङ्सिर ३ गते बुधबार ।।
- जनप्रभाब न्यूज
दाइजो नपाएको कारण श्रीमतीको हत्या गरेको आरोप लागेका रौतहट निवासी राकेश सिंह कुर्मीलाई प्रहरीले पक्राउ गर्न नसकेको पीडित पक्षले गुनासो गरेका छन् ।
रौतहटको फतुवाविजयपुर नगरपालिका- २ स्थित वर्गिनिया निवासी कैलाश राउतले आफ्नो छोरी कल्पा पटेलको दाइजोको कारण हत्या गरिएको भनेर इलाका प्रहरी कार्यालय फतुवाविजयपुर लक्ष्मीनिया दोस्तीयामा जाहेरी दिएको चार दिन वित्दासम्म आरोपी पक्राउ पर्न सकेको छैन ।
सोही नगरपालिकाको-१ गम्हरिया टोल निवासी रामएकवाल सिंहका २८ वर्षीय छोरा राकेश सिंह कुर्मीसँग विवाह भएको चार महिना नवित्दै दाइजो स्वरुप मोटरसाइकल नदिएको निहुँमा यही कात्तिक २६ गते छोरीको हत्या गरेको पीडित बुवा कैलाश राउतले जानकारी दिनुभयो ।
दाइजोको कारण हत्या भएपछि छोरीको शवलाई वीरगन्ज स्थित नारायणी अस्पतालमा पोष्टमार्टम गरि हिन्दू रितिरिवाज अनुसार दाह सँस्कार गरेर त्यहाँ स्थित इलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिदा समेत आरोपीहरु पक्राउ पर्न नसकेको बताए ।
पीडित बुवाले छोरीको ससुरा पक्षका चारजना विरुद्ध किटानी जाहेरी दिएका छन् । उनले छोरीका ससुरा रामएकवाल सिंह, श्रीमान् राकेश सिंह, जोठाजु सुरेश सिंह तथा देवर युवराज सिंह भन्ने नरेश पटेल विरुद्ध किटानी जाहेरी दिएका छन् ।
जाहेरी दिएको चार दिन वित्न लाग्दा समेत प्रहरीले आरोपीहरुलाई पक्राउ गर्न सकेको छैन । आरोपीहरु घर छाडेर नेपालमै रहेका आफन्तहरुका लुकेर बस्दै आएको भएतापनि प्रहरीले पक्राउ गर्न नसकेको पीडित पक्षको आरोप छ ।
यसबारे इलाका प्रहरी कार्यालय फतुवाविजयपुर लक्ष्मीनिया दोस्तीयाका प्रहरी निरीक्षक विष्णु विकले उक्त घटनाबारे अनुसन्धान भइरहेको बताए । उनले झुण्डिएर केटीको शव फेला परेको हुनाले त्यो हत्या हो कि आत्महत्या हो भनेर अहिलेसम्म यकिन हुन नसकेको कारण आरोपीहरुलाई पक्राउ नगरिएको बताए ।
पीडित पक्षले तिनीहरु विरुद्ध जाहेरी दिएका छन्, त्यसको अनुसन्धान भइरहेको छ, अनुसन्धानबाट हत्या भएको पुष्टि भएपछि त्यसमा को को संलग्न छन्, तिनी सबैलाई पक्राउ पक्राउ गरेर कानून बमोजिम कारवाही प्रक्रिया अगाडि बढाइने बताए ।
मृतक कल्पा पटेलका श्रीमान् लगायत ससुरा, सासु तथा दाजुभाईहरुको मिलोमतोमा हत्या गरेर आत्महत्या गरेको देखाउन खोजिएको पीडित बुवाको आरोप छ । विवाहका बखत दाइजो वापत एक रुपैया नलिई केटा केटी पक्षले आआफ्नो खर्च आफै व्यवहोर्ने भनेर सहमति भएकोमा विवाहको दिनभन्दा दुई दिन अगाडि दाइजो स्वरुप ५ लाख नगद तथा मोटरसाइकल माग गरेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !