
- सुनसरी : कार्तिक २८ गते शुक्रबार ।।
- जनप्रभाब न्यूज
लागुऔषधको गढ तोड्दै प्रहरी उपरीक्षक ( एसपी ) कमल थापा । सुनसरी प्रहरीले ठूलो परिमाणका लागुऔषध सहित पटकाजन्य विष्फोटक पदार्थ नष्ट गरेको छ ।

प्रहरीले जिल्ला प्रहरी कार्यालय हातामा पत्रकार सम्मेलनको आयोजना गरी बरामद भएका लागुऔषध सहितका पटकाजन्य विष्फोटक पदार्थ नष्ट गरेको हो ।

प्रहरीले तिहारलाई लक्षित गरी भारतबाट ल्याइएका लाखौं मूल्य पर्ने पटकाजन्य विष्फोटक पदार्थ खाल्डो खनी पुरेको छ । त्यसका अलावा प्रहरीले विभिन्न समयमा बरामद गरी कानुनी प्रकृया पुरा गरेका आगुऔषधजन्य सामग्री समेत नष्ट गरेको छ ।

सुनसरी प्रहरीले खैरो हिरोईन सहितका विभिन्न परिमाणमा बरामद भएका आगुऔषध र घरेलु मदिरा समेत पत्रकार सम्मेलनका बिच सार्वजनिक गरी नष्ट गरेको छ । सो क्रममा प्रहरीले एक सातायता जिल्लामा संचालनमा ल्याएको गाँजा फँडानीका क्रममा नष्ट गरिएका १५ हजार ५ सय २९ बोट गाँजा समेत जलाइएको थियो ।

पत्रकार सम्मेलनका बिच सुनसरी प्रहरीले जिल्लामा संचालित लागुऔषध केन्द्रीत स्वीप अप्रेसनका साथै अपराध नियन्त्रणमा परिचालित सुरक्षा दस्ताबाट प्राप्त उपलब्धी सार्वजनिक समेत गरेको छ ।

त्यसैगरी लुकाईछिपाई राखिएको अवस्थामा बरामद गरेको एक थान पेस्तोल र गोली समेत प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक ( एसपी ) कमल थापाले प्रहरीले हात पारेका उपलब्धी सार्वजनिक गरेका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै थापाले विगतका वर्षको तुलनामा जिल्लाको शान्ति सुरक्षामा आमूल परिवर्तन आएको बताए । उनले आगुऔषध सहित अपराध नियन्त्रणको सवालमा प्रहरीले ठूलो सफलता हात पारेको दाबी समेत गरे ।

प्रहरीले गत वर्षको तुलनामा भन्सार छली वापत उल्लेख्य रुपमा राजश्व संकलन भएको विवरण समेत सार्वजनिक गरेको थियो । उसले प्रहरी कार्यालयबाट सम्पादित मुद्धा विवरण लगायत अन्य कामकाजका विषयमा समेत पत्रकार सम्मेलनमा सार्वजनिक गरेको थियो ।


















