- कञ्चनपुर : कार्तिक २४ गते सोमबार ।।
- जनप्रभाब न्यूज
हतियार सहित कञ्चनपुरको दक्षिणी सीमा क्षेत्र बेलौरी नगरपालिका १० भुडा पुगेका भारतीय एसएसबी माफी माग्दै फर्किएका छन् । पटक पटक नेपाली भूमिमा हतियार सहित प्रवेश गर्न पल्केका भारतीय एसएसबीलाई स्थानीयले लखेटेपछि माफीमाग्दै फर्कीएका हुन् ।
एसएसबीको हतियार सहितको जत्था नेपाली भूमिमा प्रवेश गरी नक्साङ्कन र रेखाङ्कन गर्न खोजेपछि स्थानीयले विरोध जनाएका थिए । एकाबिहानै सुटुक्क नेपाल प्रवेश गरी स्ट्रीप नक्साका आधारमा नेपाल भारत पिलर नम्बर ३२, ३३, र ३४ वरपरको नेपाली भुभाग नाप्न थालेपछि स्थानीयले लखेटेका हुन् । बेलौरी नगरपालिका वडा नम्बर १० का अध्यक्ष हरिलाल चौधरीले भने, ‘भारतीय पक्षको रबैया अझै अन्त्य भएको छैन ।’ उनले नेपाल प्रवेश गरी कसैलाई थाहै नदिई चोर शैलीमा नेपाली भुमी नाप्नु निन्दनिय कार्य भएको बताए ।
यस्तै बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरी भन्नुहुन्छ उच्च स्तरिय कुटनैतिक पहलबाट सीमा समस्या समाधान गर्ने भनी दुई देशबीच छलफल चलिरहेका बेला हतियारसहित नेपाल प्रवेश गरी भारतीय पक्षले धावा बोल्न नहुने बताए ।
अर्कोतर्फ अन्तराष्ट्रिय सीमा सरोकार समुह कञ्चनपुरका संयोजक पल्लब राज भट्टले कुनै समन्वय नै नगरी सीमानी जनतालाई जिस्काउनु भारतीय हेपाह प्रवृत्ति भएको जिकिर गरे । उनले विभिन्न सीमाक्षेत्रमा पटक पटक भारतीय पक्षको अतिरञ्जित क्रियाकलाप बढ्दै गएको बताउदैं सरकारले सीमा विवादको तत्काल टुङ्गो लगाउनु पर्ने बताए । यस्तै उनले तत्कालीन कञ्चनपुरको स्«टीप नक्सा नै त्रुटीपूर्ण रहेकाले उक्त नक्सा सच्याएमात्रै कञ्चनपुरको सीमा समस्या समाधान हुने कुरामा जोडदिए ।
कञ्चनपुर प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले भने भारतीय पक्ष दशगजा क्षेत्रमा आउनु स्वभाविक भएको बताउदै चिन्ताको विषय नरहेको बताए । उनले भारतीय एसएसबी सीमा हेरफेरका निमित्त हरेक महिना आउने भएकाले यो नियमित प्रक्रिया भएको बताए ।
न्यूज २४ का कञ्चनपुर टीभी जर्नलिष्ट संग टेलिफोन कुराकानीमा दशगजा क्षेत्रमा आउनु स्वभाविक भएको बताउदै चिन्ताको विषय नरहेको कुरा बताएका हुन् । तर उनको जवाफ दक्षीणी क्षेत्रका सीमानी जनतालाई चित्त बुझ्ने खालको छैन ।
स्थानीय बुद्धिजीबी विवेक लम्सालले भने सरकारका प्रतिनिधीहरुले रोटीको सोझो गर्नु जनताका लागि घातक भएको बताए । उनले नेकपा सरकारसंग राजनीतिक नौटंकी नगरी सीमा विवाद सुल्झाउन समेत आग्रह गरेका छन् ।
हामीलाई भारतीय एसएसबी आएको कुरा पछि मात्रै थाहा भएको बताए । उनले अब उप्रान्त बिना जानकारी हतियार सहित नेपाल प्रवेश नगर्न भारतीय पक्षलाई सुझाव दिएको समेत बताएका छन् ।
केहि समय अगाडि कञ्चनपुरको सीमा विवादको विषयमा राज्यको गम्भीर ध्यानाकर्षण गराउन लोकप्रिय पत्रकार रबी लामीछाने सहित कार्यक्रम सीधाकुरा जनता संगको टीम ३८ नम्बर पिलर विवादित क्षेत्रमा समेत पुगेको थियो ।
उक्त रिपोर्टले राज्यको ध्यानाकर्षण गराएपनि समस्या समाधान भने अझै हुन सकेको छैन । कञ्चनपुर सीमा विवाद कै शिलशिलामा भारतीय सुरक्षाकर्मीले चलाएको गोली लागेर गोविन्द गौतमको ज्यान समेत गएका थियो । कल्भर्ट निर्माण गर्न खोज्दा भारतीय पक्षले रोक लगाउन खोजेपछि विवाद बढ्दै गएको थियो भने स्थानीय जनता भारतीय पक्षको विरुद्धमा उत्रिएका थिए ।
विवाद उत्कर्षमा पुगेपछि भारतीय एसएसबीले मातृभुमीको रक्षार्थमा उत्रिएका नेपालीलाई ताकेरै गोली हानी ढालेका थिए । नेपाल आमाको रक्षा गर्दा गर्दै सयौं नेपाली घाइते समेत भएका थिए ।
यस्तै पछिल्लो पटक बेलौरी नगरपालिका ८ पचुइ स्थित ३८ नम्बर पिलर क्षेत्रमा पनि भारतीय पक्ष हतियार सहित आएपछि त्यस क्षेत्रमा पनि त्रुटीपूर्ण स्ट्रीप नक्साका आधारमा नेपाली भूमि कब्जा गर्ने कुचेष्टाका साथ प्रवेश गरेका एसएसबीलाई स्थानीयले लखेटेका थिए ।
आईतबार पुनः बेलौरी नगरपालिका १० भुडाका स्थानीय जनताले डाका शैलीमा नेपाल प्रवेश गरेका भारतीय एसएसबीलाई लखेटेर पठाएका छन् । तरपनि भारतीय रबैया प्रवृत्ती कायमै छ । यस बिषयमा सरकार गम्भीर नहुदा कञ्चनपुरमा सीमानाका जनतालाई नेपाली भूमि मिचिने चिन्ताले थप चिन्तित बनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !