- सिरहा : कार्तिक २४ गते सोमबार ।।
- जनप्रभाब न्यूज
शिक्षा विकास तथा समन्वय इकाई धनुषाबाट सरुवा भएका कर्मचारी सरुवा बदर गराउन आर्थिक चलखेल थालेका छन् । शिक्षा विकास तथा समन्वय इकाई धनुषाको प्रशासन फाटमा कार्यरत जयराम यादव सरुवा रोक्न आर्थिक चलखेल सुरु गरेको हो ।
धनुषामा शिक्षक जिल्लाअन्तर सरुवा, राहत शिक्षकको सरुवा र नियुक्त तथा कार्यालयको गतिविधिमा अनियमितता गरेको आरोप लागेका यादव सरुवा भएको एक महिना भएपनि रवाना बुझेको छैन । सरुवा भएर जानुको साटो यादव शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिवलाई भनसुन गराएर सरुवा रोक्न आर्थिक चलखेल थालेका हुन् ।
यादवले सरुवा रोक्न नेकपाका केही नेतालाई आर्थिक प्रलोभनमा पारेका छन् । आर्थिक प्रलोभनमा परेका नेकपा नेताले यादवको सरुवा रोकाउन शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल र मन्त्रालयका सचिव स्तरमा समेत पहल गरेका छन् ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको असोज ३१ गतेको निर्णय अनुसार यादवको शिक्षा विकास तथा समन्वय इकाई सप्तरी सरुवा भएको छ । सरुवा भएका यादव सप्तरी नजान राजनीति र आर्थिक चलखेलमा लागेको शिक्षा विकास तथा समन्वय इकाई धनुषाका कर्मचारी बताउँछन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !