अपराध महाशाखाको २४ घण्टाका चार काम, हत्या
बलात्कार, ठगी र लागूऔषधका कारोबारी फन्दामा
- काठमाडौं : कार्तिक २१ गते शुक्रबार ।।
- जनप्रभाब न्यूज
महानगरीय अपराध महाशाखाले पछिल्लो २४ घण्टामा गरेका चार कामले यतिबेला प्रहरी वृत्तमा चर्चा पाइरहेको छ । उसले १९–२० कात्तिकका २४ घण्टामा हत्या, बलात्कार, लागूऔषध र ठगी जस्ता जघन्य अपराधका आरोपीलाई प्रमाण सहित कानूनी कठघरामा उभ्याएको हो ।
महाशाखाको टोली कोभिड–१९ को महामारीका बिचपनि धरानसम्म पुगेर त्यहाँको प्रहरीसँगको सहकार्यमा एकजना हत्या आरोपीलाई पक्राउ गरेको हो ।
महाशाखाको टोलीले आशिष मगर हत्याका मुख्य अभियुक्त रुपेश आलेमगरलाई धरान भानुचोकबाट पक्राउ गरेको हो । उनले महाराजञ्ज क्षेत्रमा आपसी विवादमा आशिषको हत्या गरेका थिए । १४ कात्तिकमा धापासी हाईटमा आशिषको हत्या भएको थियो ।
उनलाई थप कारवाहीका लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्जको जिम्मा लगाएको महाशाखा प्रमुख एसएसपी दीपक थापाले बताए ।
यस्तै २ कात्तिकमा चावहिल चोकस्थित एउटा होटलमा बालिकाको बलात्कार गरि फरार रहेका सुजनजंग कार्कीलाई सामाखुसीबाट पक्राउ गरेको छ । उनलाई थप कारवाहीका लागि वृत्त गौशाला पठाइएको छ ।
महाशाखाले विशेष सूचनाका आधारमा गौरीघाट क्षेत्रमा लागूऔषध चरेशको अवैध कारोबारमा संलग्न पाँच जनालाई करिब दुई किलो चरेश सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुङगाका सरेन लामा, धादिङका सागर भन्ने सुरेश तामाङ, सोनाम तामाङ र दीपक तामाङलाई गौशाला वृत्तमा बुझाएको हो ।
उपत्यकाभित्र हुने जघन्य अपराध नियन्त्रण तथा अनुसन्धानको म्याण्डेट पाएको महाशाखाले पछिल्लो २४ घण्टामै हङकङ आइडी बनाइदिने भन्दै ठगीमा संलग्न आरोपीलाई समेत पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोरखा छेपेटारका कमल मगर रहेका छन् ।
उनले विभिन्न ब्यक्तिहरुलाई हङकङ आइडी बनाएर त्यहाँ पठाईदिने भन्दै मोटो रकम ठगी गरेका थिए । यस सम्बन्धमा थप अनुसन्धान र कारबाहीका लागि उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंमा बुझाएको महाशाखाका प्रवक्ता एसपी ईश्वर कार्कीले पर्दाफासलाई बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !