- जनकपुरधाम : कार्तिक १९ गते बुधबार ।।
- जनप्रभाब – सम्बादाता
निजामती ऐनलाई लत्याउँदै प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा राम नरेश रायले डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख डिभिजनल वन अधिकृत (डिएफओ) माधव प्रसाद देवको सरुवा रोका गर्दै आएका छन् ।
प्रमुख वन अधिकृत देवले मन्त्री रायलाई आर्थिक प्रभावमा पारेकै कारण सरुवा रोका हुँदै आएको श्रोतले जनाएको छ । वन अधिकृत देवले मन्त्री रायको छोरा सँगै बसेर रक्सी पिउने र मोजमस्ती गर्नुका साथै मन्त्री रायको माग अनुसार बेला–बेलामा काठ, मह, बासमती चामल, रहरको दाल, चिनी र जंगली जडिबुटी लगायत अन्य सामग्रीहरु समेत वन अधिकृत देवले उपलब्ध गराउँदै आएको श्रोतको दावी छ ।
निजामती ऐन अनुसार दुई वर्ष भन्दा बढी समय एउटै वन कार्यालयको प्रमुख हुन नपाउने प्रावधान हुँदाहुँदै पनि मन्त्री रायले प्रमुख वन अधिकृत देवको सरुवानै नगरी निजामती ऐनलाई धज्जी उडाएका छन् ।
वन सम्बन्धि गठन भएको संसदीय छानबिन समितिमा डिभिजन वन कार्यालय सर्लाही समेत परेको र समितिले वन कार्यालय सर्लाहीका प्रमुख डिभिजनल वन अधिकृत (डिएफओ) माधव प्रसाद देवलाई भ्रष्टाचार गरेको आरोप समेत लगाएको छ ।
प्रमुख वन अधिकृत देवको अनिवार्य अवकाश २०७८ मंसिर ८ गते हुने भएकोले निजामती ऐन अनुसार २०७७ मंसिर ८ गते भित्रमा सरुवा गर्नुपर्ने प्रावधानलाई मन्त्री रायले लत्याउँदै आएका हुन् । भ्रष्टाचारमा मुछिएका वन अधिकृत देवसँग मन्त्री रायले आफ्ना व्यक्तिगत स्वार्थ पूरा गर्नकै लागि उनलाई निरन्तरता दिँदै आएको स्रोतले जनाएको छ ।
सर्लाहीका साविक २२ वटा गाउँ विकास समितिको संयुक्त रुपमा रहेको फुलजोर बाबा साझेदारी वनका अध्यक्ष सुरेन्द्र महतो लगायत वनका अन्य पदाधिकारीहरु समेतले भ्रष्टाचारमा मुछिएका वन अधिकृत देवलाई तत्काल सरुवा गर्न मन्त्री रायलाई पटक–पटक माग गर्दै आएपनि मन्त्री राय कानमा तेल हालेर बसेको वनका अध्यक्ष महतोले जानकारी दिए ।
उनले भने, ‘मन्त्री राय आर्थिक चलखेलमा लागेकै कारण हाम्रो मागलाई बेवास्ता गर्दै आएका छन् ।’ भ्रष्टाचारमा मुछिएका प्रमुख वन अधिकृत देवलाई तत्काल सरुवाको माग गर्दै तत्कालीन राजपा नेपालका सर्लाही प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को क्षेत्रीय कमिटी र हरिपुर्वा नगरपालिकाको नगर कमिटीलगायत पार्टीका अन्य नेता तथा कार्यकर्ताहरु समेतको टोलीले मन्त्री रायको मन्त्रालयमा पुगि ध्यानाकर्षण समेत गराउँदा मन्त्री रायले नटेरेको र प्रमुख वन अधिकृत देवलाई पार्टीभन्दा पनि माथीको दर्जा मन्त्री रायले दिएको श्रोतले ठोकुवा गरेको छ ।
मन्त्री रायलाई आफूले आर्थिक प्रलोभनमा पारिसकेकोले आफ्नो सरुवा कुनै पनि हालतमा नहुने भन्दै प्रमुख वन अधिकृत देवले कार्यालयका अन्य कर्मचारीहरुलाई चुनौती समेत दिँदै आएका छन् । मन्त्री रायले आफ्नै छोरा दिनेश रायलाई स्वकीय सचिव समेत नियुक्त गरेका छन् । यस विषयमा प्रतिक्रियाका लागि मन्त्री राय र प्रमुख डिभिजनल वन अधिकृत (डिएफओ) माधव प्रसाद देवलाई प्रत्यक्ष फोन सम्पर्क गर्दा सम्पर्क हुन सकेको छैन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !