- काठमाडौं : कार्तिक १४ गते शुक्रबार ।।
- जनप्रभाब न्यूज
नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) को सचिवालय वैठक बोलाउने तयारी भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच संवाद बन्द भएसंगै सचिवालय वैठक बोलाउने तयारी भएको हो ।
कार्यकारी अध्यक्षसंग दुरी घटाउन प्रधानमन्त्री ओलीले निकट नेताहरुलाई परिचालन गरेपनि उनले आफुले अव एक्ला एक्लै छलफल नगर्ने र पार्टी कमिटीको वैठकमा मात्र प्रधानमन्त्रीसंग कुरा गर्ने स्पष्ट पारेका छन् । कार्यकारी अध्यक्ष प्रचण्डले पार्टीमा पछिल्लो समय देखिएको समस्याबारे छलफल गर्न सचिवालयको वैठक बोलाउने विषयमा नेताहरुसंग छलफल गरेका छन् ।
‘अर्को हप्ता सचिवालय बैठक बोलाउने गरी तयारी भएको छ । अव त्यसको मिति एक दुई दिनमै तय हुन्छ ।’ कार्यकारी अध्यक्ष प्रचण्ड निकट एक नेताले भने ।
सचिवालयका सदस्य समेत रहेका नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालयको वैठक बोलाउने पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष प्रचण्डलाई लिखित पत्र समेत दिएका छन् । सचिवालय सदस्यहरु झलनाथ खनाल,माधव नेपाल, वामदेव गौतम र श्रेष्ठले कार्यकारी अध्यक्ष प्रचण्डलाई सचिवालय वैठक चांडो बोलाउन माग गरेपछि वैठक वस्ने तयारी भएको हो ।
नेकपा विवाद मिलाउन गठित कार्यदलको प्रतिवेदन र भदौ २६ को स्थायी समितिको निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री अनिच्छुक देखिएको र कर्णाली प्रदेश सरकारको हकमा समेत भएको निर्णयविपरित उनका सल्लाहकारबाट गलत वक्तव्यवाजी भएको भन्दै प्रचण्ड प्रधानमन्त्री ओलीसंग असन्तुष्ट छन् ।
भदौ २६ को स्थायी समिति वैठकले दुवै अध्यक्षको सल्लाहमा पार्टी र सरकार चलाउने, विधि, विधान र पद्धतिको समेत ख्याल गर्दै अघि बढ्ने निर्णय भएपनि प्रधानमन्त्री ओलीले सहमति विपरित राजदूत र मन्त्री नियुक्ती एकलौटी रुपमा गरेको भन्दै नेकपाभित्र तिव्र असन्तुष्टी छ ।
त्यसपछि भारतिय गूप्तचर संस्था रअका प्रमुखको नेपाल भ्रमण, विरगंज प्रकरण र कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई प्रमुख सचेतकमाथी कार्वाही फिर्ता लिन एकल हस्ताक्षरमा पत्र पठाएसंगै दुवै अध्यक्षको सम्बन्धमा चिसोपना आएको छ ।
दुवै अध्यक्षबीच संवाद बन्द भएसंगै सहमतीको लागी प्रधानमन्त्री ओली पक्षिय नेताहरु अहिले चर्को दौडधुपमा छन् । नेकपा महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्य,सुवास नेम्वाङ र अर्का नेता शंकर पोखरेल दुवै अध्यक्षलाई सहमतिमा आउंन आग्रह गरिरहेका छन् । उनिहरुले कार्यकारी अध्यक्ष प्रचण्डलाई भेटेर दुवै अध्यक्ष मिल्नुको विकल्प नभएको भन्दै सहमतीका लागी आग्रह गरेको स्रोतको दावी छ ।
तर जवाफमा प्रचण्डले पार्टीले यसअघि गरेका निर्णय कार्यान्वयन हुनुपर्ने र एक्ला एक्लै भन्दा पनि पार्टी कमिटिमा छलफल हुनुपर्ने अडान राखेका छन् । उनले प्रधानमन्त्री ओलीले विगतका सहमतीहरु पटक पटक उल्लंघन गरेको भन्दै अव सहमती कार्यान्वन विना छलफल गर्नुको औचित्य नभएको स्पष्ट पारेको स्रोतले जानकारी दियो ।
प्रधानमन्त्री ओलीले कार्यकारी अध्यक्षसंग दुरी बढेसंगै वरिष्ठ नेता माधव कुमार नेपाललाई समेत भेटेर मिलेर जाने प्रस्ताव गरेका छन् । नेपालले समेत पार्टीलाई विधीमा संचालन गर्ने कुरामा आफु सहमत भएको तर यही अवस्थामा पार्टी र सरकार संचालन गर्ने विषयमा भने आफु मिल्न नसक्ने जवाफ दिएसंगै उनि निकट नेताहरु फेरी कार्यकारी अध्यक्षलाई सहमतिमा ल्याउने कोशिसमा लागेका छन् । यसअघि प्रधानमन्त्री ओलीलाई साथ दिंदै आएका नेता वामदेव गौतम समेत उनिसंग असन्तुष्ट छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !