मन्त्रिपरिषद्को १६ चैतमा बसेको बैठकले कोरोना नियन्त्रणका लागि फ्रन्टलाईनमा खटिने सुरक्षाकर्मीलाई दैनिक ३ सय रुपैयाँदेखि शतप्रतिशतसम्म भत्ता दिने निर्णय गरेको थियो । तर, निर्णय भएको ७ महिना वितिसक्दा पनि उनीहरुले भत्ता पाएका छैनन् ।
दसैंको मुखमा पनि भत्ता नपाउँदा सुरक्षाकर्मीको मनोबल गिरेको सुरक्षा सम्बद्ध अधिकृतहरु बताउँछन् । नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कडायतले हालसम्म सुरक्षाकर्मीलाई भत्ता बापतको रकम नआएको बताए ।
नेपाली सेना र सशस्त्र प्रहरी बलका कर्मचारीले पनि प्रोत्साहन भत्ता वापतको रकम पाएका छैनन् ।
महामारीका बेला अग्रपङ्तिमा खटिएका सुरक्षाकर्मीलाई कोरोना भत्ता दिन आनाकानी गरिरहेका बेला सांसदहरुलाई दसैं भत्ता दिइएको थियो । यद्यपि, व्यापक विरोधपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस लगायतले भत्ता नलिने घोषणा गरेका थिए ।
स्रोत अभावले भत दिन सकिएन
अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले प्रोत्साहन भत्ता किन आएन भन्ने जवाफ आफूसँग नभएको बताएका थिए । मन्त्रालयका एक अधिकारीले भने स्रोत अभावका कारण भत्ता दिन नसकिएको बताएका छन् ।
उनका अनुसार सुरक्षा निकायबाट अपेक्षा गरिएभन्दा धेरै संख्यामा प्रस्ताव आएपछि समस्या भएको छ ।
गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट प्राप्त प्रस्ताव अर्थ मन्त्रालयमा पठाइएको बताउँछन् ।
नेपाल प्रहरीले ५१ हजार बढी सुरक्षाकर्मीका लागि भत्ता माग गर्दै गृहमा पत्राचार गरेको छ भने एक अर्ब ३४ करोड रुपैयाँ माग गरिएको आर्थिक प्रशासन शाखाका एक अधिकृत बताउँछन् । सशस्त्र प्रहरीले असारसम्मका लागि एक अर्ब रकम माग गरेको बताइएको छ ।
नेपाली सेनाले पनि ८ हजारभन्दा बढी अधिकारीका लागि कोरोनासम्बन्धी प्रोत्साहन भत्ता प्रस्ताव गरेको छ ।
रक्षा मन्त्रालय स्रोतका अनुसार जंगीअड्डाले ११ चैतदेखि २६ असारसम्मको प्रस्ताव पेश गरेको छ, जसअनुसार ७३ करोड ४४ लाख ८३ हजार रुपैयाँ सैनिक अधिकारीले पाउनुपर्छ ।
‘फ्रन्टलाइनमा खटिएका अधिकृतहरुको हाजिरीका आधारमा विवरण पठाएको सेनाले बताएको छ’, मन्त्रालयका एक अधिकृतले भने, ‘त्यही प्रस्ताव हामीले अर्थ मन्त्रालयमा पठाएका छौं ।’
मन्त्रिपरिषद्को निर्णयमा अग्रपंक्तिमा रहेर पर्सनल प्रोटेक्टिभ इक्यूपमेन्ट (पीपीई) लगाएर संक्रमित, आशंकित र क्वारेन्टाइनमा राख्ने व्यक्तिलाई समातेर ल्याउने र अस्पतालमा खटिने सुरक्षाकर्मीलाई शतप्रतिशत भत्ता दिने भनिएको थियो ।
दोस्रो पंक्तिमा रहेर संक्रमित, आइसोलेसनमा रहेका र आशंका गरिएका विरामीको सुरक्षार्थ खटिएका र पीपीई लगाउन नपर्नेका लागि ५० प्रतिशत भत्ता दिने भनिएको थियो ।
लकडाउन र सामाजिक दूरी कायम गर्न खटिने सुरक्षाकर्मीलाई दैनिक ३ सय रुपैयाँ प्रोत्साहन भत्ता पाउने भनिएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !