निर्मला हत्या प्रकरण : २६ महिनापछि पुराना फाइल पल्टाउँदै प्रहरी
- काठमाडौं : कार्तिक ६ गते बिहीबार ।।
- जनप्रभाब – सम्बादाता
निर्मला पन्तको हत्या छिट्टै टुंगोमा पुर्याउने आइजीपी शैलेश थापा क्षेत्रीको प्रतिबद्धता अनुसार प्रहरीले सो घटनाका पुराना फाइल खोतल्न सुरु गरेको छ । बालिका पन्तको २६ महिनाअघि बलात्कारपछि हत्या भएको थियो । प्रहरीले पन्तको हत्यासम्बन्धी पुराना फाइल पल्टाउन थालेको छ ।
यसैगरी, प्रहरीले पुराना फाइलको अध्ययनका क्रममा अनुसन्धानमा तानिएर छुटेका र नयाँ सम्भावित अनुहारलाई समेत उच्च निगरानी गरिरहेको छ । दिलीप बिष्ट अनुसन्धानमा तानिएर पनि छुटेका थिए । मानवअधिकारकर्मीको आवरणमा जम्मा भएको भीडले बिष्टको अनुसन्धान समेत गर्न नदिई उनी मानसिक सन्तुलन ठीक नभएकाले उनीबाट पन्तको बलात्कार र हत्या हुनै नसक्ने भन्दै नाराबाजी गरेपछि उनलाई प्रहरीले अनुसन्धान नै नगरी छाड्न बाध्य भएको थियो । यद्यपि अनुसन्धानका क्रममा तानिएर छाडिएकाहरुको मुद्दा नटुंगिएका कारण उनीहरु पनि दायरामा आउने प्रहरीको दाबी छ । प्रहरीले अनुसन्धानका लागि धेरै टोलीलाई सक्रिय बनाएको जनाएको छ । प्रहरीले अनुसन्धानको गतिले अहिले लय लिएको र अनुसन्धान निष्कर्ष नजिक पुगेको दाबी पनि गरेको छ ।
२०७५ साउन १० मा बालिका पन्तको घरनजिकै उखुबारीमा बलात्कारपछि हत्या गरिएको थियो ।
सर्वेन्द्र खनाल आइजीपी हुनासाथ भएको पन्त हत्या उनले आफ्नै कार्यकालमा टुंगो लगाउन खोजे पनि सकेनन् । उनले निर्मलाका हत्यारा पत्ता लगाउन कार्यकालको अन्तिम चरणमा पनि प्रयत्न गरेका थिए ।
खनालपछि आइजीपी भएका ठाकुरप्रसाद ज्ञवालीले सुरुमै निर्मला हत्या प्रकरण टुंगो लगाउने भाषण गरे । तर ५ महिना पनि पूरा कार्यकाल नभएका उनले बिस्तारै त्यो प्रतिबद्धता बिर्सिए । पन्त हत्या प्रकरणमा दोषी पत्ता लगाई कारबाही गर्नका लागि तत्कालीन आइजीपी खनालले उनलाई पनि कन्चनपुर पठाएका थिए । तर उनले छेउटुप्पो पत्ता लगाउन सकेका थिएनन् ।
आइजीपी भएपछि आफ्नो कार्यकाल छोटो छ भन्ने हेक्का नराखी सस्तो लोकप्रियताका लागि पन्त हत्या प्रकरण टुंगोमा पुर्याउँछु भने । तर सकेनन् । वर्तमान आइजीपीको कार्यकाल २२ महिना भएकाले उनले पन्तको हत्याका दोषी पत्ता लगाउन पर्याप्त समय छ । उनले पन्त हत्या प्रकरण टुंगोमा पुर्याउँछु भनेका पनि छन् । उनको प्रतिबद्धता पनि पूर्वआइजीपी ज्ञवालीको जस्तो नहुने अपेक्षा गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !