- काठमाडौं : कार्तिक ४ गते मंगलवार ।।
- जनप्रभाब – सम्बादाता
देशको राजधानी काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बिशिष्ट श्रेणीका सचिवलाई बनाउने गरी सरकारले दरबन्दी सृजना गरेको थियो । तर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय हेर्ने उप-प्रधानमन्त्री इश्वर पोखरेलको संरक्षण प्राप्त सहसचिव राजेश्वर ज्ञवालीको डिजाइनमा विशिष्ट श्रेणीको दरबन्दी कटौती गरिएको हो । र, सहसचिव नै प्रमुख प्रशासकीय हुने ब्यवस्था गरिएको छ ।
ज्ञवाली निजामती प्रशासनमा सेटिङवाला सहसचिवका रुपमा चिनिन्छन् । उपसचिव हुँदा तत्कालीन सिंचाईमन्त्री रघुवीर महासेठले उनलाई निजी सचिव बनाएका थिए । कांग्रेसका क्रियाशील सदस्य नै रहेका कर्मचारी ज्ञवालीलाई निजी सचिव बनाएकोमा महासेठको त्यतिबेला चर्को आलोचना भएको थियो । पछि तिनै महासेठ भौतिक पूर्वाधार तथा यातायात मन्त्री हुँदा ज्ञवालीलाई मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुख बनाए । ज्ञवालीले सडकका अरबौं बजेटका आयोजनामा सेटिङ गर्दै बदनाम डीईहरुलाई पठाउने काममा महासेठ र उनकी पत्नीको दूतको रुपमा काम गरेका थिए ।
महानगरपालिकाको मेयरमा बिजयी भएपछि विकास निर्माणको कामले नगरबासीको मन जित्दै गएका विद्यासुन्दर शाक्यलाई अब ज्ञवाली जस्ता प्रमुख प्रशासकीय अधिकृतले विवादमा पार्ने चिन्ता कर्मचारीले गर्न थालेका छन् ।
नेपाल ट्रष्टको स्वामित्वमा रहेको काठमाडौं प्लाजाको भवन महानगरपालिकाले मासिक ६० लाख भाडामा लिनेगरी बढाएको प्रक्रिया भित्रभित्रै भाँड्न ज्ञवाली सक्रिय रुपमा लागेका थिए । २०७७ असार २ गतेदेखि खाली हुनुपर्ने काठमाडौं प्लाजा ज्ञवालीले गर्दा नै असोजसम्म पनि खाली भएको छैन । उनले काठमाडौं प्लाजा लिजमाथि सबलिजमा लिएको कन्सेप्ट डेभलपर्सका संचालक बहादुरकृष्ण ताम्राकारलाई उचालेर मुद्दा हाल्न लगाएका थिए । प्लाजामा बैंकदेखि ब्यापार गर्दैआएकाहरुलाई पनि उच्च अदालत पाटनमा मुद्दा माथि मुद्दा हाल्न लगाएर उनले ताम्राकारलाई उकासेका थिए । नेपाल ट्रष्टमा पनि बसिसकेका ज्ञवालीको उपप्रधानमन्त्री इश्वर पोखरेलसँग पनि सुसम्बन्ध छ । त्यही सम्बन्धका आधारमा उनले ताम्राकारलाई पनि भेट गराएर ठूलो रकम घुस डिल गरी काठमाडौं प्लाजा ब्यापारीकै पोल्टामा सुम्पिने खेल खेलेका थिए ।
नेपाल ट्रष्टका अध्यक्ष उपप्रधानमन्त्री पोखरेल नै हुन् । तर करोडौं घुसको चलखेल गरी काठमाडौं प्लाजा ताम्राकारलाई नै सुम्पिन खोजेको सूचना प्रधानमन्त्री ओलीसम्मै पुग्यो । र, ज्ञवालीको योजना चकनाचुर भएको भयो । नेपाल ट्रष्टले सम्पूर्ण पक्षको मूल्यांकन गरी महानगरपालिकालाई मासिक ६० लाख भाडामा दिनेगरी सम्झौता गरिसकेपछि ज्ञवाली भने ब्यापारी ताम्राकारलाई नै मुद्दा हाल्न उकास्ने खेलमा लागेका थिए । तर अदालतले सरकारी सम्पत्ति कौडीको मूल्यमा विना प्रतिस्पर्धा ब्यापारीलाई लिजमा दिन खोजेको चाल पाएपछि अन्तरिम आदेश नै दिएन ।
महानगरका अन्तिम प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्याल भएका छन् । उनी सरुवा हुनुअघि नै ज्ञवालीले सचिवको दरबन्दी कटौती गर्ने समाचार प्रशारण गराइसकेका थिए । अर्याल हुँदै उनले महानगरमा सचिवको दरबन्दी काटिएको हल्ला चलाएका थिए । उपप्रधानमन्त्री इश्वर पोखरेलमार्फत् ज्ञवालीले महानगरमा विशिष्ट श्रेणीको दरबन्दी कटौती गराएर अब त्यहाँ लामै समय हालीमुहाली गर्ने डिजाइन तयार गरेका छन् । महानगरपालिकामा कार्यवाहक प्रमुख प्रशासकीय अधिकृत पनि चलाइसकेका उनी त्यहाँको अरबौंको साधनस्रोतबारे जानकार छन् । त्यो साधनस्रोतलाई सकेसम्म दोहन गर्नका लागि नै उनले उपप्रधानमन्त्री पोखरेलमार्फत् नै सचिवको दरबन्दी कटौती गराउन सफल भएका छन् । मेयर शाक्यले ज्ञवालीजस्ताको विश्वास गर्दा भोलि डुबाउने चिन्ता महानगरका नेकपा निकट कर्मचारीहरुमा छाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !