- पोखरा : कार्तिक १ गते आइतबार ।।
- जनप्रभाब – सम्बादाता
गण्डकी प्रदेश प्रहरी कार्यालयले पनि आज ६५ औं प्रहरी दिवस मनाएको छ । गण्डकी प्रदेशभित्रका उत्कष्ट प्रहरीलाई पुरस्कृत तथा कामको सिलसिलामा मृत्युवरण गरेका अमर प्रहरीलाई श्रद्धञ्जलीका साथै परिवारलाई सम्मान गर्दै प्रहरी दिवस मनाइएको हो ।
६५ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले गण्डकी प्रदेश सरकारले आफ्नै प्रहरी नियमावली बनाउन लागेको र सो नियमावली देशकै उत्कृष्ठ नियमावली हुने बिश्वास ब्यक्त गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमनत्री गुरुङले नेपाल प्रहरी विभिन्न भौतिक स्रोत साधन तथा जनशक्तिको अभावका कारण पनि देश र जनताको सेवा एवं हितको खातिर अनवरत रुपमा तल्लीन रही व्यवसायिक मर्यादाका साथ कार्यसम्पादन गर्दै आएको बताउनुभयो ।
साथै उहाँले आगामी दिनमा समेत कानून विपरितका कार्यमा कुनै पनि अनुचित दवाब र प्रभावमा नपरी नागरिकलाई केन्द्रविन्दूमा राखेर सेवा प्रवाह गर्नु नै अहिलेको आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेशका कानून मन्त्री हरिबहादुर चुमानले प्रहरी र समुदाय साझेदारका रुपमा अगाडि बढ्नुपर्ने बताउनुभयो । प्रहरी नियमावलीको विषयमा बोल्दै चुमानले प्रदेश प्रहरीको रुपमा गण्डकी प्रदेशले प्रहरी तयार गर्ने बताउनुभयो ।
सोही अवसरमा गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले अनेकन आरोह अवरोहका बीच नेपाल प्रहरीको शीर सदैव उच्च र अटल बनाई राख्न आफ्नो कर्तव्य पथमा सदा कर्मशील रहि संगठनका खातिर देश र जनताको पक्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने अमर तथा शहीद प्रहरीप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्नुभयो ।
कार्यक्रममा अमर प्रहरीका आश्रीत परिवारलाई कदरपत्र तथा नगद रकम साथै प्रदेश प्रहरीको वार्षिक कार्य योजना अनुसार त्रैमासिक कार्य सम्पादनको आधारमा उत्कृष्ट जिल्लाको रुपमा छनौट भएको जिल्ला प्रहरी कार्यालय तनहुँ, उत्कृष्ट कार्यालय व्यवस्थापन तर्फ गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक किरण राणालाई नगद पुरस्कार एवं सम्मानपत्र प्रदान गरिएको छ ।
त्यस्तै, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठ, उत्कृष्ठ ट्राफिक व्यवस्थापन तर्फ गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्की, उत्कृष्ट प्रहरी कार्यतर्फ जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरलाई पनि नगद पुरस्कार एवं सम्मान पत्र प्रदान गरिएको छ ।
यता उत्कृष्ट कार्यालय व्यवस्थापनतर्फ प्रहरी नायव निरीक्षक टिकाराम पनेरु, उत्कृष्ट विपद उद्दार कार्य तर्फ प्रहरी हवल्दार श्यामकान्त श्रीवास्तव, उत्कृष्ट कार्यालय सहयोगीतर्फ प्रहरी कार्यालय सहयोगी बुधराम बि.क.लाई नगद पुरस्कार एवं सम्मान पत्र प्रदान गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !