- काठमाडौं ,असोज २७ गते मंगलवार ।।
- जनप्रभाब – सम्बादाता
मेयर रेनु दाहालले भरतपुरलाई स्मार्ट सिटि अवधारण ल्याएसगैँ चितवनको भरतपुर महानगरपालिकामा – ६ लेन सडक बनाउन आज ठेक्का सम्झौता भएको छ । करिब २ बर्षदेखिको मिहिनेतको फल पहिलो चरणमा सफल भएको हो ।
मेयर दाहालले भनिन्, भरतपुर महानगरको विशेष प्रस्तावमा भौतिक पूर्वाधार मन्त्रालयको गौरवको योजना अन्तर्गत बहुप्रतिक्षित ६ लेन सडक (गोन्द्राङदेखि पुल्चोक सम्म) ठेक्का सम्झौता भएको छ।
ठेक्का सम्झौता भएसगैँ पुल्चोकदेखि गोन्द्राङसम्मको सडक ६ लेनको बन्ने निश्चित समेत भएको छ। हाल दुई लेन रहेको ६ किलोमिटर सडकखण्डलाई ६ लेन बनाउन लागिएको मेयर रेनु दाहालले जानकारी दिईन् । जसका लागि सडक डिभिजन कार्यालय चितवनका प्रमुख ई।कृष्ण अधिकारी र इण्डो सगुन जेभी सहदेव खड्का विच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सडक विस्तारका लागि सबैभन्दा कम आर्थिक प्रस्तावका आधारमा सडक निर्माणको जिम्मा इण्डो सगुन जेभीले पाएको छ । १६ कम्पनीमध्ये कम आर्थिक प्रस्तावका आधारमा निर्माण कम्पनी छनोट भएको डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ । १ अर्बको लागतमा सडक विस्तार हुनेछ ।
सडक सीमा ५० मिटरको चौडाइँलाई प्रयोग गरेर सडक निर्माण गरिनेछ । नारायणगढ–बुटवल सडक खण्डकै आधारमा यो सडक निर्माण गरिनेछ । सडकको दुबैतर्फ फुटपाथ, ढल, सर्भिस लेन छुट्याइएको छ । यस्तै छुट्टै बोलपत्रमार्फत भरतपुर महानगरपालिकाले सडकको दुवैतर्फ स्मार्ट लाइट जडानको तयारी गरेको छ । सडकखण्डमा विद्युत् अण्डरग्राउण्ड गर्ने तयारी नेपाल विद्युत् प्राधिकरणले गरिरहेको हो ।
महानगरपालिकाभित्र हाल आँपटारीबाट केन्द्रीय बस टर्मिनल चोकसम्मको बाइपास सडक विस्तारको काम भइरहेको छ । पुल्चोक–गोन्द्राङ सडक विस्तारपछि नारायणगढ र भरतपुर बजार क्षेत्र व्यवस्थित हुने भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले बताईन् । अबको केहि दिनभित्रै शिलान्याससहित सडक निर्माण कार्यको शुरूवात हुने मेयर दाहालले जानकारी गराईन् । मेयर दाहालले उक्त योजनाको लागि सहयोग पुर्याउने सबैलाई धन्यवाद ज्ञापन समेत गरेकी छिन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !