- सिन्धुपाल्चोक,असोज २६ गते सोमबार ।।
- जनप्रभाब – सम्बादाता
नेपाली सेनाले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ पहिरोको उच्च जोखिममा रहेको नाम्फा बचाउन विशेष कारवाही सम्पन्न गरेको छ ।
नेपाली सेनाले नाम्फा देखि करिब १ किलोमिटर माथि रहेको विशाल ढुङगा बिस्फोटक पदार्थ प्रयोगगरि २३ असोजमा हटाईएको हो ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार विशाल ढुङ्गा २०७२ सालको भुकम्पपछि आफ्नो पहिलेको स्थानबाट केही मात्रामा सरी तल होचो भु–भागमा झर्ने अवस्थामा रहेको थियो ।
त्यस स्थानको जमिन प्राकृतिक रुपमा निकै खुकुलो रहेको हुँदा वर्षा लगायत अन्य कुनै कारणबाट आफ्नो स्थान छोडेको खण्डमा जुगल गाउँपालिका अन्तर्गत रहेको सान्चो, नाम्फा ठूलो र नाम्फा सानो गाउँमा गम्भिर मानविय र भौतिक क्षति पुर्याउन सक्ने आंकलन गरिएको थियो ।
यस्तै बलेफी खोला थुनिन गई निर्माणाधिन बलेफी हाईड्रो पावर प्रोजेक्टलाई समेत ठुलो असर पार्ने निश्चित थियो । यस ढुङ्गाका कारण नाम्फा गाउँको १४९ र सञ्च गाउँका ११५ घरहरुमा भौतिक तथा मानवीय क्षति हुने प्रवल सम्भावना रहेकाले स्थानियवासीहरुमा डर एवं त्रासको अवस्था रहेकाले १२ असोजबाट अपरेशन सेभ नाम्फा नाम दिएर विशेष कारवाही संचालन भएको थियो ।
जिल्ला विपद् व्यवस्थापन समिति, सिन्धुपाल्चोकको ६ असोजको बैठकले सेनालाई अनुरोध गरेको थियो । त्यसपछि गोरख बक्स गण, कालीसिद्धि गण (ईन्जिनियरिङ्ग) तथा माथिल्लो बलेफि हाईड्रोपावरका प्राविधिकहरुको समन्वयमा उक्त ढुङ्गालाई सुरक्षित रुपमा हटाउनका लागी विस्तृत योजना तयार भएर काम सम्पन्न भएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !