- झापा,असोज २४ गते सनिवार ।।
- जनप्रभाब – सम्बादाता
लागू पदार्थको ओसारपसारका लागि उर्वर नाका बन्दैछ पूर्वको काकड्भिट्टा । लागू औषध प्रयोगकर्ताको हिसाबमा पनि काठमाडौं पछि दोस्रो स्थान लिन थालेको छ झापाले ।
यही काकड्भिट्टा नाकाबाट छिरेका लागू औषधहरु पोखरा, काठमाडौं हुँदै देशका विभिन्न स्थानहरुमा पुग्ने गरेका छन् । मुलुकका लागि नै ट्रान्जिट पोइन्ट बनेको काकड्भिट्टाबाट भइरहेको लागू औषध तस्करी रोक्ने प्रयास हरेक कोणबाट असफल बन्दै गएको छ ।
नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्युरोले लागू औषधको ओसार पसार रोक्न ठूलै कसरत गर्दै आएपनि लागूऔषध प्रयोगकर्ता र ओसारपसारकर्ताको करामतको अघि केही लाग्न नसकेको अवस्था देखिएको छ ।
‘चोरका हजार उपाय’ भने झै प्रहरीको हरेक प्रयास असफल हुँदा नेपालमा प्रतिबन्ध लगाइएको तर भारतमा खुलेआम विक्री हुँदै आएको औषधिजन्य लागू औषध सहजै नेपाल प्रवेश हुँदै आएको छ ।
प्रहरीले आफ्नो मात्र नभइ सबैको सक्रियता आवश्यक देख्न थालिसकेको छ लागूऔषध ओसारपसारको नियन्त्रणतमा । हुन पनि समाज र मुलुकका लागि नै घात मानिएको लागूऔषध प्रयोगको गतिविधि रोक्न आम जनमानस पनि सजग र सक्रिय बन्न आवश्यक छ नै ।

















