सादा पोसाकमा प्रहरी परिचालन : प्रहरी उपरीक्षक (एसपी) चन्द
- दाङ,असोज १८ गते आइतबार ।।
- जनप्रभाब – सम्बादाता
प्रहरीले जुवातासको खालबाट १८ जनालाई पक्राउ गरेको छ । दाङ राप्ती गाउँपालिका–५ सिसहनिया बजारस्थित रहेको दर्शन खाजा घरको कोठामा जुवातास खेलिरहेका अवस्थामा १० जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा दाङ राप्ती गाउँपालिका–७ बस्ने ३७ वर्षीय विक्रम साह, सोही ठाउँका २९ वर्षीय मोहन गाहा मगर, रोल्पा सिनिलस्मृति गाउँपालिका–७ बस्ने २८ वर्षीय नारायण रोका मगर, दाङ राप्ती गाउँपालिका–२ बस्ने ३० वर्षीय विक्रम राना रहेका छन् ।
त्यसैगरी सोही ठाउँका ३० वर्षीय श्याम गुरुङ, २८ वर्षीय वसन्त वेल्वासे, ३० वर्षीय लक्ष्मण गिरी, ३० वर्षीय छोटेलाल चौधरी, ४५ वर्षीय बेल सिंह भैयामार र ३८ वर्षीय युवराज बुढा पक्राउ परेका जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डीएसपी सुमित खड्काले बताए ।
गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको बताउँदै डीएसपी खड्काले भने, ‘उनीहरुको साथबाट २ लाख ६० हजार १२५ रुपैयाँ नगद र ४६ बुक तास समेत बरामद भएको छ ।’
यस्तै बबई गाउँपालिका– ३ धनुवासस्थित केशव भन्ने केश कुमार बिकको घरमा जुवातास खेल्ने खेलाउने गरेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय खिलतुिरबाट खटिएको प्रहरीले ८ जनालाई पक्राउ गरेको डीएसपी खड्काले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेहरुमा दाङ बबई गाउँपालिका–२ धनुवासका ३७ वर्षीय कुमार विक, सोही ठाउँका ४३ वर्षीय लोक बहादुर खड्का, ४९ वर्षीय पर्साराम बिक, २४ वर्षीय शेरबहादुर बिक, २४ वर्षीय प्रेम पुन, ३२ वर्षीय बिमल भन्ने बिन बहादुर घर्ती, २९ वर्षीय बिक्की नेपाली र २९ वर्षीय भीम बहादुर नेपाली रहेका छन् ।
पक्राउ परेका उनीहरुको साथबाट २ लाख ६१ हजार ९९० रुपैयाँ नगद र एक बुक तास बरामद भएको डीएसपी खड्काले बताए । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कोरोना महामारीमा जुवातास खेल्ने जुवाडेहरु सक्रिय भएका जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दले बताए । चाडपर्व नजिकिएसँगै कोरोनाको बीचमा पनि जुवातास मौलाउँदै गएपछि जुवाडेहरु धमाधम पक्राउ परेको एसपी चन्दको भनाइ छ ।
दाङमा जुवातास नियन्त्रणका लागि सादा पोसाकमा प्रहरी परिचालन हुने र पछिल्लो समय टोल सुरक्षा समितिबाट जानकारी भएपछि पक्राउ गर्ने गरेको एसपी चन्दले बताए । पछिल्लो समय खोला किनारामा समेत जुवातास खेल्दै गरेको केहि व्यक्तिहरु पक्राउ परेको उनले बताए ।
