- काठमाडौं ,असोज १६ गते शुक्रबार ।।
- जनप्रभाब – सम्बादाता
महानगरीय आयुक्त कार्यालय रानीपोखरीमा सरुवा हुन डिआइजीहरुको दौडधूप सुरु भएको छ । डिआइजी विश्वराज पोखरेलको सरुवा भएको एक बर्ष नपुग्दै महानगरीय आयुक्तका लागि डिआइजीहरुले लबिङ सुरु गरेका हुन् ।
डिआइजी पोखरेल २०७६ पुस २ मा महानगरीय प्रहरीको प्रमुखमा सरुवा भएका थिए । राजनीतिक दवावबाट प्रहरी फाेर्सलाई मुक्त राख्ने साेचका साथ कामकाे थालनी गरेका आइजीपी शैलेश थापा क्षेत्री पनि महानगरीय आयुक्त परिवर्तन गर्ने सोचमा पुगेको स्रोत बताउ छन् ।
देशको राजधानी भएको र महानगरीय प्रहरी कार्यालयमा काम गर्न पाउँदा शासन संचालन गर्नेहरुसँग निकट हुन पाउने भएकाले पनि डिआइजीपीहरुको चासो बढी देखिने गरेको छ । डिआइजीहरुका लागि महानगरीय प्रहरी कार्यालय आकर्षक मानिन्छ ।
महानगरीय प्रहरी कार्यालयमा सरुवा हुनका लागि सुदूरपश्चिम प्रदेशका डिआइजी उत्तम सुुवेदी, २ नम्बर प्रदेशका धिरजप्रताप सिंह र ५ नम्बरका रविन्द्रबहादुर धानुक लागेका छन् । स्रोतका अनुसार, आइजीपी थापाले आफूसँगैका गण्डकी प्रदेशका डिआइजी घनश्याम अर्याल र २ नं.का धिरजप्रताप सिंहलाई ल्याउने पक्षमा रहेका छैनन् ।
एक नम्बर प्रदेशका डिआइजी ईश्वरबाबु कार्कीका बारेमा धेरै गुनासा आएकाले उनको पनि संभावना कम देखिन्छ । ५ नम्बरका धानुक र सुदूरपश्चिमका उत्तम सुवेदीमध्ये एकलाई महानगरीय कार्यालयमा ल्याउने सोचमा आईजीपी रहेको बताइन्छ ।
यसैगरी, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले काठमाडौं प्रहरी परिसरका एसएसपी श्याम ज्ञवालीलाई पनि परिवर्तन गरी अशोक सिंहलाई त्यहाँ पठाउन खोजिरहेकाे चर्चा गृहमा चलेकाे छ । तर आइजीपी थापाले भने सरुवा भएको पाँच महिनामै तान्दा गलत सन्देश जाने मत राखेको स्रोत बताउछ ।
त्यसैगरी, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबीच कुरा नमिल्दा एसएसपीको सरुवा अवरुद्ध भएको बताइन्छ । ललितपुरका टेकप्रसाद राई, ट्राफिक प्रहरी महाशाखाका भीमबहादुर ढकाल, बुटवल तालिम केन्द्रका गणेश रेग्मी, गण्डकी प्रदेश तालिम केन्द्रका दिवेश लोहनीलगायतका एसएसपीको २०७७ भदौ १३ मै एक बर्ष पुगिसकेको छ । एक बर्ष पुगेपछि नै सरुवा गर्ने तयारी गरे पनि गृहमन्त्री र आइजीपीबीच कुरा नमिलेकाले मूर्तरुप पाउन नसकेको प्रहरी हेडक्वार्टरमा चर्चा हुने गरेको स्रोत बताउछ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाको प्रमुखमा पठाउने एसएसपीको बिषयमा पनि सहमति जुट्न सकेको छैन । ट्राफिकमा एसएसपी किरण बज्राचार्यलाई लैजाने भने पनि त्यो नाममा पनि सहमति हुन सकेको छैन । बज्राचार्यले ललितपुर परिसर वा ट्राफिक महाशाखामा जाने इच्छा व्यक्त गरेको बताइन्छ । तर गृहमन्त्रालयका सचिव महेश्वर न्यौपाने उनलाई ती दुवै ठाउ“मा सरुवा नगर्ने पक्षमा छन् । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले दुर्गा सिंहलाई ललितपुर परिसरमा लैजान खोजेका चर्चा छ ।
आगामी माघमा ३० बर्षे सेवावधिका कारण अवकाश हुन लागेका बुटवल तालिम केन्द्रका एसएसपी गणेश रेग्मीलाई यथावत राख्न आइजीपी थापालाई मुख्यसचिव लोकदर्शन रेग्मीले चर्को दबाब दिइरहेको गृह स्रोत बताउछ । प्रहरी भर्नाको समय आएकाले एसएसपी रेग्मी माघसम्म थमौती हुन मुख्यसचिव रेग्मीको शरणमा पुगेको बताइन्छ ।
विगतमा प्रहरी भर्नामा आर्थिक चलखेल हुने गरेकाले प्रहरीले बद्नामी खेप्दै आउनु परेको छ । यस पटक पनि भर्नामा चलखेल हुन सक्ने र त्यसले संगठनको बदनाम हुने भएकाले हेडक्र्वाटरले उनलाई सरुवा गर्न चाहिरहेको स्रोत बताउछ ।
आगामी माघमा एसएसपी रेग्मीसहित ५ नम्बर प्रदेश प्रहरी कार्यालयका एसएसपी राजकुमार बैदवार पनि ३० बर्ष अवधिले विदा हुँदैछन् । १ नम्बर गणका गणपति एसपी राजेन्द्र बिष्ट पनि अवकाश हुनेछन् । आइजीपी थापाले इन्चार्जबाट इन्चार्ज नदिने अठोट गरे पनि बिष्टलाई पोखरा गणबाट १ नम्बर गणको इन्चार्जमा सरुवा गरेका थिए । बिष्टको १ नम्बर गण समेत जोड्दा एसपीमा चार पटक इन्चार्ज पाउन सफल भाग्यमानी भित्र पर्दछन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !