- काठमाडौं ,असोज १४ गते बुधबार ।।
- जनप्रभाब – सम्बादाता
मन्त्रिपरिषद् पुनर्गठनको विषयलाई लिएर नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) का कार्यकारी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्का अध्यक्ष केपी शर्मा ओली बिच मंगलवार छलफल भए पनि कुनै निष्कर्ष निस्किन सकेन ।
मन्त्रिपरिषद् पुनर्गठनको विषयलाई लिएर अध्यक्षद्वयबीच लगातार छलफल भइरहेको छ ।
मंगलवारको भेटवार्तामा पनि प्रचण्डले अपवादबाहेक पुराना मन्त्रीलाई हटाएर नयाँलाई अवसर दिनुपर्ने प्रस्ताव गरेका थिए ।
‘नयाँ सन्देश जानेगरी पूरै सेट परिवर्तन गरौं भन्ने प्रचण्डको प्रस्ताव थियो,’ नेकपा स्रोतले लोकान्तरसँग भन्यो ।
पूर्व माओवादी खेमाका एक स्थायी कमिटी सदस्यले सेट नै परिवर्तन गरौं भन्ने प्रचण्डको प्रस्ताव ओलीले नमान्दा ढिलाइ भइरहेको बताए ।
‘स्थायी कमिटीको स्पिरिड अनुसार नै मन्त्रिमण्डल पुनर्गठन गरौं भन्ने प्रचण्डको प्रस्ताव छ, त्यही विषयमा सहमति जुटाउन अध्यक्षबीच छलफल भइरहेको छ,’ ती सदस्यले लोकान्तरसँग भने ।
मन्त्रिपरिषद् पुनर्गठनको विषयलाई लिएर ओली र प्रचण्डबीच बिहीवारदेखि लगातार छलफल भइरहेको छ ।
ओलीले भने सबै मन्त्री हटाउँदा राम्रो काम गरेका समेत हट्ने भन्दै आंशिक पुनर्गठनको पक्षमा अडान लिइरहेको ती सदस्यले बताए ।
व्यापक पुनर्गठन नगरेमा पूर्व माओवादीको कोटामा परेका मन्त्रालयमा आफूले चाहेअनुसार फेरबदल गर्न पाउनु पर्ने अडान प्रचण्डले राखिरहेका छन् । पूर्व माओवादीको भागमा गृहलगायत शिक्षा, ऊर्जा, वन तथा वातावरण, श्रम तथा रोजगार, खानेपानी उद्योग वाणिज्य र आपूर्ति मन्त्रालय परेका छन् ।
प्रधानमन्त्री ओलीले गृहमन्त्री रामबहादुर थापा र उद्योगमन्त्री लेखराज भट्टलाई निरन्तरता दिन प्रस्ताव गरेको स्रोतको दाबी छ । ऊर्जामन्त्री पुनलाई प्रचण्डले नै पुनः दोहोर्याउन खोजेको नेकपाभित्र टिप्पणी भइरहेको छ ।
आजभोलिमा सहमति भएन भने मन्त्रिमण्डल पुनर्गठन दशैंपछि धकेलिने सम्भावना रहेको पूर्व एमाले खेमाका एक स्थायी कमिटी सदस्यले बताए । मन्त्रिमण्डल पुनर्गठनको चर्चासँगै नेकपाभित्रका दुवै समूहका सांसद मन्त्री बन्नका लागि तीव्र लबिङमा लागेका छन् ।
गत भदौ २६ गते सम्पन्न स्थायी कमिटी र असोज ४ गते सम्पन्न सचिवालय बैठकले सरकारका काम प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्ने निर्णय गरेको थियो ।
२०७४ साल चैत्रमा पूर्णता पाएको मन्त्रिमण्डल २०७६ मंसिरमा आंशिक पुनर्गठन भएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !