- जनकपुर,असोज ११ गते आइतबार ।।
- जनप्रभाब – सम्बादाता
पक्की आवास पाउने आश्वासनले आवासविहीन भए विपन्न दलित परिवार । महोत्तरीको गौशला नगरपालिका वडा नम्बर -६ फुलकाहा स्थितमा सञ्चालित जनता आवास कार्यक्रमले गरिब, दलित र विपन्नलाई झन समस्या थपेको छ।
सहरी विकास मन्त्रालय अन्तर्गत जनता आवास कार्यक्रमले आठ महिनाअघि दलित समुदायको घर बनाउन सुरु गरेको थियो । तर आठ महिना बितिसक्दा पनि दुइ कोठे घर निर्माण हुन सकेको छैन ।
गौशाला नगरपालिका वडा नम्बर –६ फुलकहा स्थितका मुसहरीटोलमा करिब ३६ वटा मुसहर समुदायका घर भत्काएर पक्की घर बनाउन लागेको करिब ८ महिनादेखि घर निमार्ण कार्य अलपत्र अबस्थामा छ । पक्की घर बनाउने भनेर झुपडी भत्काएर बस्तीका ३६ वटा घरको अहिले सम्म जग उठाएर अलपत्र छाडिएको हो ।
घर निर्माण नहुँदा अहिले ३६ परिवारका महिला, बालबालिका सहित बृद्धबृद्धाहरु खुला आकासमुनि बस्न बाध्य छन् । उनिहरु महिनौंदेखि बाहिर टेन्ट पालमा बस्नु परेको छ । बस्तीका स्थानीय पानो देवी माझी मुसहरले भनिन् , ‘धेरै समस्या छ, गरिबको पक्षमा बोलिदिने कोही छैनन् ।’
बस्तीका इन्दल माझी मुसहरले महिनौं बिति सक्दा पनि घर नबनेपछि जग उठाएको ठाउँमा झुपडी बनाएर त्रिपालले छाएर गुजारा चलाउदै आएका छन् ।त्रिपाल र टेन्टमा पानी परेको र हावाहुरी आएको बेला विचल्ली हुने गरेको लक्ष्मीदेवी माझी मुसहरले दुखेसो पोखिन् ।
किसुन माझी मुसहरले भने ‘पानीले भिजेर दुई जना बच्चाहरू बिरामी भएका छन्’, उनले पीडा सुनाउँदै थपे, ‘यो वर्षामा बाँचिदैन होला ।’ जाडोमा शीतलहर, गर्मीमा लामखुट्टे र सर्पको प्रकोप र वर्षामा पानीले दिनुसम्म दुःख दिएको छ । त्यसमाथि पनि रातीमा चोरहरु आएर सुत्न समेत दिदैन ।
सहरी विकास मन्त्रालयले जनता आवास कार्यक्रम अन्तर्गत महोत्तरीमा गएको आर्थिक वर्षमा एक हजार दलित परिवारलाई घर निमार्ण गर्ने कार्यक्रम सञ्चालन गरेको थियो । तर उक्त कार्यक्रम प्रभावकारी बन्न नसक्दा घर निर्माणको कार्य अलपत्र परेको हो ।अलपत्र बनेको घर नबन्नुको कारण समेत मुसहर समुदायले जानकारी पाएका छैनन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !