प्रहरीको संरक्षणमा केराउ र सुपारीको खुलेआम तस्करी
काठमाडौं ,असोज ९ गते शुक्रबार ।।
जनप्रभाब – सम्बादाता
एक र दुई नम्बर प्रदेशका काँकडभिट्टा, बीरगंज लगायतका सीमाबाट हुने तस्करीमा कडाई गरेपछि तस्करहरुले पाँच नम्बर प्रदेशस्थित पश्चिम नवलपरासीको महेशपुर नाकाबाट सुपारी र केराउ भारततर्फ पठाउन थालेका छन् । २०७७ साउन ३० मा एकैदिन १ लाख २६ हजार किलो हरियो केराउ बीरगंज र बाराबाट नलपरासीमा गएको बिलबिजक फेलापरेका छन् । एक दिनमै साढे १ लाख किलो केराउ बीरगंज र बाराबाट नवलपरासी, भैरहवा र बीरगंजका नाममा गएको प्रमाण नै प्राप्त भएको छ ।
त्यस्तै, सुपारी तस्करहरुले १ नम्बर प्रदेशको काँकडभित्ता नाका र बिराटनगर नाकामा कडाई भएकाले नवलपरासीको महेशपुर नाकाबाट तस्करी सुरु गर्न थालेका छन् । २०७७ साउन ३० मा मात्रै करिब ३३ हजार किलो सुपारी १ नम्बर प्रदेशको काँकडभित्ता र बिराटनगरबाट सीमा पार गराउन सम्भव नभएपछि महेशपुर नाकाबाट गराइएको हो ।
पश्चिम नवलपरासीका नेपाल प्रहरीका एसपी अजय केसी, सशस्त्रको २६ नम्बर गण पश्चिम नवलपरासीका एसपी महेश अधिकारीसम्मलाई मिलाएर महेशपुर नाकाबाट केराउदेखि मदिरासम्म भारततर्फ तस्करी भइरहेको छ । स्रोतका अनुसार तस्करहरुले ५ नम्बर प्रदेशका डीआइजी रविन्द्रबहादुर धानुकसँग पनि सेटिङ गरी गएको साउनयता करोडौं मूल्यबराबरको सुपारी र केराउ महेशपुर नाकाबाट खुलेआम तस्करी गराउँदैआएका छन् । डीआइजी धानुकले तस्करहरुलाई सहज बनाउनका लागि सीमा प्रहरी चौकीका इन्चार्ज आफ्नो इशारामा चल्ने टोपेन्द्र बुढामगरलाई लगेका थिए । जिल्लाका एसपी केसी, सशस्त्रका एसपी अधिकारी र डीआइजीको मिलेमतोमा सुपारी र केराउ सुनवल हुँदै जाने गरेको छ । बर्दघाटको बाटोबाट पनि महेशपुरमा केराउ र सुपारी तस्करी हुँदैआएको छ । सुरुमा डीआइजी धानुक र एसपीको तस्करीको लाइन खोल्नेबारेमा कुरा नमिले पनि कांग्रेस नेता देवेन्द्रराज कणेल(मुन्नाबाबु)ले सेटिङ गरी साउनदेखि यतामात्रै ठूलो परिमाणमा सुपारी र केराउ भारततर्फ तस्करीको माध्यमबाट पुर्याउन सफल भएका छन् । तर ५ नम्बर प्रदेशका डीआइजी धानुकले महेशपुर नाकाबाट तस्करी हुने गरेको कुरा अस्वीकार गरे । उनले भने, ‘नवलपरासीमा मटर(केराउ) बोकेको गाडी त छिर्नै बन्द गरेका छौं ।’
तर उनले केराउ बोकेको गाडी जिल्लामा छिर्नै नदिएको दाबी गरे पनि बालाजी इन्टरप्राइजेज प्रालिले सिद्धार्थ मल्टिनेशनल प्रालिका नाममा २०७७ साउन ३० मा ४ सय २० बोरा अर्थात् २१ हजार किलो हरियो मटर बीरगंजदेखि नवलपरासी पठाएको मोटर चलानी नम्बर नै प्राप्त भएको छ । ना.५ ख ७७३६ नम्बरको सफल ट्रान्सपोर्टको ट्रकमा बीरगंजबाट नललपरासीमा केराउ ढुवानी भएको देखिन्छ ।
रुंगटा प्रोसेसिङ इन्डष्ट्रिज परवानीपुर २०७७ बाराबाट साउन ३० मै ‘मा बैष्णोदेवी गल्लाभण्डार परासी’ को नाममा हरा मटर(केराउ) ४ सय ५० बोरा (२१हजार किलो) पठाएको चलानी नम्बर पनि प्राप्त भएको छ । ना ९ ख ३८६३ नम्बरको ट्रकमा १८ लाख ९० हजारको उक्त केराउ पनि भारततर्फ नै तस्करीका लागि बाराबाट परासी लगिएको स्रोत बताउँछ । स्रोतका अनुसार साउन ३० मै बालाजी इन्टरप्राइजेज बीरगंज आदर्शनगरबाट सिद्धार्थ मल्टिनेशनल प्रालि नवलपरासीका नाममा १७ लाख १ हजार रुपैयाँको ४ सय २० बोरा(२१ हजार किलो) केराउ पठाएको देखिन्छ । बालाजी इन्टरप्राइजेज प्रालि बीरगंजले श्री हनुमान जेटी ट्रेडर्स नवलपरासीका नाममा २१ हजार किलो हरियो केराउ पठाएको प्रमाण पनि फेलापरेको छ ।
जय मा अम्बे ट्रेडिङ पर्सा बीरगंजबाट पशुपति जेनरल स्टोर रामग्राम–६, परासीका नाममा २०७७ साउन ३० मै २१ हजार किलो केराउ प्रतिकेजी ८९ रुपैयाँ ५० पैसामा पठाएको देखिन्छ । जुन भारतमै पठाउनका लागि हो । ना ६ ख ५४०८ गाडीबाट १८ लाख ७९ हजार ५ सय रुपैयाँको उक्त केराउ पनि परासीमा तस्करीकै लागि बीरगंजबाट पठाइएको स्रोत बताउँछ ।
शंकर ट्रेड एण्ड कन्सर्न बीरगंजबाट साउन ३० मा सफेद मटर(केराउ) ५० केजीको बोरामा ४ सय २० बोरा(२१ हजार किलो) केराउ जय विद्या ट्रेडर्स भैरहवाका नाममा चलानी काटेको प्रमाण पनि प्राप्त भएको छ । ना ६ ख ४४०९ नम्बरको ट्रकमा प्रतिकिलो ४६ रुपैयाँका दरले ९ लाख ६६ हजार बराबरको सेतो केराउ तस्करहरुले महेशपुर नाकाबाटै तस्करी गराउन सफल भएका छन् । चलानी भैरहवाको काटे पनि त्यहाँबाट प्रमुख जिल्ला अधिकारीदेखि राजस्व अनुसन्धान विभाग पनि सेटिङ गर्दा असम्भव हुनेभएपछि महेशपुरबाटै भारततर्फ पठाउन तस्करहरु सफल भएका छन् ।
२०७७ साउन ३० मै रामटोबाको उद्योग प्रालि बुटवलका नाममा झापाको बि.एस. ट्रेडवेल, मेचीनगर,काँकडभिट्टाले १६ हजार किलो सुपारीको चलानी काटेको छ । र, ४० लाख ६८ हजार रुपैयाँको उक्त सुपारी पनि भारततर्फ तस्करी भएको स्रोतको दाबी छ । प्रतिकेजी २ सय २५ रुपैयाँको उक्त सुपारी पनि महेशपुरबाटै भारततर्फ पठाइएको छ ।
ट्रलिप इन्टरनेशनल, बिराटनगर–२ बाट श्रीराम टोबाको उद्योग प्रालि बुटवलको नाममा १६ हजार २० किलो(२६७ बोरा) सुपारी साउन ३० मै महेशपुरबाट तस्करीमार्फत् भारततर्फ पठाइएको छ । ३७ लाख २९ हजार १ सय ३५ रुपैयाँ बराबरको सुपारी बिराटनगरको ट्रलिप इन्टरनेशनलको नाममा कर बिजक देखाएर परासीबाट भारततर्फ तस्करी गराइएको छ ।
१ र २ नम्बर प्रदेशबाट तस्करी गर्न नपाएछि तस्करहरुले सुपारी र केराउ तस्करी गर्न सीमा नाका महेशपुरलाई प्रयोग गर्दैआएका छन् । महेशपुर नाकाबाट तस्करीको लाइन चलाउन सीमा प्रहरीका इन्चार्ज टोपेन्द्र बुढामगरदेखि डीआइजीसम्मकै मिलेमतो रहेको स्रोत बताउँछ । डीआइजी धानुक दाङमा रहेको प्रदेश कार्यालयमा बस्दैनन् । बढीभन्दा बढी समय बुटवल तालिम केन्द्रमा रहेको प्रदेश प्रहरीको सम्पर्क कार्यालयमै बस्दछन् । केही दिनअघि एसपी अजय केसीको पहलमा तस्करीका बादशाहका रुपमा उदाएका महेन्द्र ठाकुरसँँग पनि डीआइजी धानुकको भेट भएको थियो । रामग्राम नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष ठाकुर महेशपुर नाकाबाट भारततर्फ तस्करी गर्ने मुख्य हर्ताकर्ता हुन् । कांग्रेसबाट वडाध्यक्ष जितेका उनी देवेन्द्रराज कणेलबाट संरक्षित तस्कर हुन् । पछिल्लो समयमा केराउ, सुपारीदेखि मदिरासम्मको तस्करी गर्नेमा उनी अग्रपंक्तिमा पर्दछन् ।
केही महिनाअघि भारतीय टीभी च्यानलले नेपालको महेशपुर नाकाबाट प्रहरीकै मिलेमतोमा केराउ, मरिच र मदिरा नेपालबाट भारतमा तस्करी हुने गरेको प्रचार गरेका थिए । भारतको ठुठीबारी बजारमा नेपालबाट तस्करी गरी लगिएको केराउ, मरिच र छोगडा भारतीय प्रहरीले बरामद गरेको भिडियो नै प्रशारण गरेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !