- जनकपुर,असोज ७ गते बुधबार ।।
- जनप्रभाब – सम्बादाता
सशस्त्र प्रहरी बलका आइजिपी शैलेन्द्र खनालले भारतीय सीमा क्षेत्रमा रहेका बलका इकाईहरुको निरीक्षण गरेका छन्। सोमबार र मंगलबार उनले प्रदेश २ का सप्तरी र सिरहामा तैनाथ सशस्त्र प्रहरीका इकाईहरुको निरीक्षण गरेका हुन। ‘उहाँ मध्यरातमा सीमावर्ती क्षेत्रमा स्थापना गरिएका बोर्डर आउट पोष्ट (बिओपी) मा पुगेर त्यहाँ कार्यरत प्रहरी कर्मचारीहरुलाई हौसला दिएर फर्किनु भयो,’ संगै रहेका एक अधिकृतले भने, ‘जवानहरुको भान्सामा गएर खानाको गुणस्तर पनि जाँच्नु भयो।’
निरीक्षणका क्रममा आईजीपी खनालले सावधानीसंगै जनताको सेवामा सक्रिय रहन निर्देशन दिएका थिए। कोरोनाका कारण पुरै विश्व आतंकित भइरहेका बेला नेपालको २ नम्वर प्रदेश पनि उच्च जोखिममा छ। बीरगञ्ज देखि सिरहासम्म कोरोनाको ‘हटस्पट’ बन्न पुगेको उल्लेख गर्दै आइजिपी खनालले बिषम परिस्थितिमा सशस्त्र प्रहरी कर्मचारीहरुले थप जिम्मेवारी निभाइरहेको र भबिष्यमा थप जिम्मेवारीका लागि तयार रहन पनि निर्देशन दिएको २ नम्वर बाहिनी वर्दिवासले जानकारी दिएको छ।
कोरोना कहरकै बीचमा आइजिपी खनाल मध्य तराईका इकाईहरुमा पुगेपछि जवान देखि अधिकृतसम्ममा बेग्लै उर्जा देखिएको छ। ‘फिल्डमा खटिएका सुरक्षाकर्मीका माझमा संगठन प्रमुख आफै पुग्दा हौसला मिल्छ,’ अर्का एक अधिकृतले भने, ‘उहाँ आफै दशगजामा पुगेर सीमा संबेदनशीलताका बिषयमा पनि सोधपुछ गर्नुभयो।’भ्रमणका क्रममा कार्यक्षेत्रमा खटिएका सशस्त्र प्रहरी कर्मचारीहरुको पिरमर्का पनि आइजिपी खनालले सुनेका छन। सशस्त्र प्रहरी वलका कर्मचारीहरुको हौसला बढाउन उनले यसै साताबाट देश दौडाहा सुरु गरेका थिए।आइजिपी खनालले सिरहाको मार्डर अस्थायी बोओपी तथा छिन्नमस्ता बिओपीको निरीक्षणसंगै दश गजा क्षेत्रको पनि स्थलगत निरीक्षण गरेका थिए। उनले मंगलबार नै धनुषा, महोत्तरी, सर्लाही जिल्लाका सशस्त्र प्रहरी इकाईहरुको निरीक्षण गर्ने कार्यक्रम छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !