- जनकपुरधाम ,असोज ६ गते मंगलवार ।।
- जनप्रभाब – सम्बादाता
प्रदेश २ को जनकपुरधाममा सरकारी जग्गामा बसोबास गर्दै आएका डुम समुदायको घरमाथि डोजर चलाएपछि बिचल्लीमा परेका छन् । सडक विस्तारको क्रममा जनकपुरधाम उपमहानगरपालिका – १ धर्मवान टोलका करिव एकदर्जन डुम समुदायको बिचल्ली भएको हो ।
सडक छेउमा रहेको ऐलानी जग्गामा बस्दै आएका डुम समुदायलाई बस्ने ठाउँको व्यवस्थापन नै नगरी उपमहानगरले डोजर चलाएर घरबिहीन बनाएपछि उनीहरु बिचल्लीमा परेका छन् । सो एलानी जग्गामा वर्षौदेखि ती डुम समुदायले घर बनाएर बसोबास गर्दै आएपनि स्थानीय सरकारले कुनै व्यवस्थापन नै नगरी घरमाथि डोजर चलाएर भत्काइदिएको स्थानीय रिता मलिक डुमले गुनासो गर्नुभयो ।
कोरोना कहरले मुलुक आक्रान्त बनेको मौकाछोपी बिना कुनै जानकारी नै घर भत्काएको भन्दै पीडितहरु आक्रोशित बनेका छन् ।
पीडितमध्येकै मनोज मलिक डुमले पनि आफूहरुलाई जग्गाको व्यवस्थापन नै नगरी घर भत्काएर उपमहानगरले अन्याय गरेको जिकिर गरे । केही महिनापूर्व सडक विस्तारका लागि जग्गा खाली गराउने सूचना आएपछि स्थानीयवासीले जनकपुरधाम उपमहानगरपालिका, सडक डिभिजन कार्यालय धनुषा, जिल्ला प्रशासन कार्यालय धनुषा, जिल्ला प्रहरी कार्यालय धनुषा लगायतमा बसोबासको व्यवस्थापन गर्न वा घर नभत्काउन आग्रह गर्दै ज्ञापनपत्र बुझाएका थिए ।
कोरोना महामारीका बेला उठिबास नगराउन, सुकुम्बासीहरुलाई जग्गा उपलब्ध गराउन, क्षतिपूर्ति उपलब्ध गराउन लगायतका ११ बुँदे मागसहित स्थानीयवासीले सरोकारवाला निकायमा ज्ञापनपत्र बुझाएका थिए । तर उपमहानगरले उनीहरुको आग्रहलाई बेवास्ता गर्दै घर भत्काइदिएको छ ।
घरबिहीन भएका ती डुम समुदाय अब सडक छेउमै ओत लागेर बस्नुबाहेक अर्को कुनै विकल्प रहेको छैन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !