- सुनसरी ,असोज १ गते बिहीबार ।।
- जनप्रभाब – सम्बादाता
कोरोना भाइरस ( कोभिड-१९ ) को संक्रमण रोक्न सरकारले नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा चौकी बढाएर निगरानी राखिरहेकै अववस्थामा सीमा नाका वारपार हुने तस्करी बढेको छ ।
पछिल्लो समयमा जिल्ला प्रहरी कार्यालय सुनसरी र सशस्त्र प्रहरी बल ४ नम्बर हेडक्वार्टर मातहतका युनिटहरुले त्यस्ता सामान नियन्त्रणमा लिएर भन्सार बुझाएको परिमाणलाई नै हेर्ने हो भने पनि तस्करी बढेको अनुमान लगाउन गाह्रो पर्दैन ।
अझै पछिल्लो समयमा चाडबाडलाई लक्षित गरी ब्यापारीहरुले सामान भण्डारण गर्ने क्रम सुरु भएसँगै सुनसरीका दक्षिण सीमावर्ती क्षेत्रबाट चोरबाटो प्रयोग गर्दै विभिन्न वस्तुको तस्करी हुने क्रम सुरु भएको छ ।
तेस्रो मुलुकबाट नेपाल पैठारी गरिएको हरियो मटर, मरिच, सुपारी, सुकमेल चोरी बाटोबाट भारत पठाउनदेखि लत्ताकपडा, पट्का, चिनी तथा चामललगायतका खाद्यान्नहरु नेपाल ल्याउने क्यारिङवालाहरु सक्रिय भएका हुन् । सीमा क्षेत्रका नागरिकले नेपालमै उत्पादन भएको खाद्य सामाग्री चामल, चिनी, तेल खरिद गर्दै आएपनि पछिल्लो भदौ लागेपछिको पछिल्लो समय सीमा कटाएर ल्याउन थालेका हुन् ।
यसमा सुरक्षा निकायका स्थानीय युनिटहरुसँग सेटिङ नै हुने गरेको स्थानीयहरु बताउँछन ।
सुनसरीका सीमा क्षेत्रमा खाद्यान्नको ब्यवसाय गरिरहेका अधिकांश ब्यापारीहरुका अनुसार चामल र चिनीलगायतका खाद्यान्न सामग्रीहरु केही समयअघिसम्म स्थानीयहरुले समेत नेपाली बजारबाटै खरिद गर्ने गरेकोमा पछिल्लो समयमा एक्कासी कमी आएको छ ।
सीमा क्षेत्रका ग्राहकले नेपालको उत्पादन खपत गर्न छोडेको उनीहरुको भनाई छ ।
सिमावर्ती भारतीय बजारका व्यापारीले क्यारिङ गराएर प्रति किलोग्राम ७५ रुपैयाँमा वारीका बजारमा चिनी ल्याइदिन थालेको ब्यापारीहरुको आरोप छ ।
प्रति किलोग्राम ७५ हालेर खरिद गरेको तस्करीको उक्त चिनी सीमा क्षेत्रसहित इनरुवाका केही पसलेहरू प्रति किलोग्राम ८० रुपैयाँमा विक्री गरिरहेका छन् ।
यता कानुनी रूपमा पैठारी गरिएको चिनीको खुद्रा मूल्य प्रति किलोग्राम ८५ रुपैयाँ पर्दछ ।
सीमाबाट तस्करी धन्दा चलिरहेको छ भन्ने कुरा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको गस्ती टोलीले हालैको केही दिनमा भारतबाट नेपाल तस्करी हुने र नेपालबाट भारत तस्करी हुने लाखौ मुल्य बराबरको सामान र कारोवारी नियन्त्रणमा लिएर कारवाही अगाडि बढाएको घटनाले प्रष्ट पारेको छ ।
सुनसरीका साहेबगञ्ज, कप्तानगञ्ज, घुस्की, बसन्तपुर, भूटाहा, नरसिंह, श्रीपुर र अमडुवा पछिल्लो समयमा तस्करीका मुख्य केन्द्र भएको दावी स्थानीयहरु गर्दछन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !