- डडेल्धुरा,भदौ ३० गते मंगलवार ।।
- जनप्रभाब – समाचारदाता
डडेल्धुरामा नयाँ प्रहरी नायब उपरीक्षक ( डिएसपी ) को रूपमा महेन्द्र नेपाल हाजिर भएका छन्। यहाँका प्रहरी नायब उपरीक्षक ( डिएसपी ) दधिराम न्यौपानेको सरुवा भएपछि नेपाल हाजिर भएका हुन्।
न्यौपानेको सरुवा राष्ट्रिय प्रहरी परीक्षण प्रतिष्ठान महाराजगन्ज काठमाडौंमा भएको थियो। उनको स्थानमा बाग्मती प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय हेटौंडा, मकवानपुरमा कार्यरत नेपाल डडेल्धुरा आएका हुन्। शुक्रबार डडेल्धुराको प्रहरी प्रमुखको रूपमा कार्यभार सम्हालेका नेपालले सोमबार जिल्लास्थित पत्रकारसँग परिचय तथा अन्तरक्रिया गरेका छन्।
नयाँ डिएसपी नेपाललाई जिल्लास्थित पत्रकारले जिल्लामा शान्ति सु–व्यवस्था कायम गर्न आग्रह गरेका थिए। पछिल्लो समयमा जिल्लामा अपराधिक क्रियाकलाप बढ्दै गएको प्रति पत्रकारहरुले डिएसपी नेपालको ध्यानाकर्षण गराएका थिए।
साथै नेपाललाई निष्पक्ष रूपमा काम गर्न आग्रह गरेका थिए। अवैध मदिरा बिक्री वितरण तथा जुवातास खेल्ने खेलाउने कार्य हुँदा पनि प्रहरी मौन रहेकोले यस्ता क्रियाकलाप नियन्त्रण गर्न प्रहरीले विशेष ध्यान दिनुपर्ने पत्रकारको भनाइ थियो।
पत्रकारहरुले उनलाई कतिपय घटनाहरूको सूचना प्रहरीले दिन आनाकानी गर्ने गरेकोले सञ्चारमैत्री बन्न आग्रह गरेका थिए। जिल्लामा महिला हिंसा र आत्महत्याका घटना दिनप्रतिदिन बढिरहेकाले यसको न्यूनीकरण गर्न तर्फ प्रहरीले ध्यान दिनुपर्नेमा पत्रकारहरुको जोड थियो। प्रहरीलाई जानकारी हुँदाहुँदै पनि जिल्ला सदरमुकाममा दिनहुँ भइरहने जुवातास नियन्त्रण गर्न प्रहरी असफल भएको पत्रकारहरुको भनाइ थियो।
डिएसपी नेपालले पहिलोपटक आफ्नो सुदूरपश्चिम बसाइँ भएकोले यहाँको बारेमा घुलमिल हुन केही समय लाग्ने भएता पनि जिल्लामा हुने अवैध क्रियाकलाप रोक्न आफू पूर्ण रूपमा लाग्ने बताए। उनले पत्रकारबाट आएको गुनासोलाई सम्बोधन गरेर अगाडि बढ्ने बताए। कानुनभन्दा माथि कोही पनि नभएकाले दोषी र अपराधिक क्रियाकलापमा संलग्न जोसुकैलाई पनि नछोड्ने उनको भनाइ थियो।
फेसबुकबाट तपाईको प्रतिक्रिया !