- काठमाडौं ,भदौ ३० गते मंगलवार ।।
- Janprabhab – Ishwar Dulal
सुरक्षा निकायबाट मिसनमा जान भनसुन र आर्थिक चलखेल हुने गरेको गुनासो आउने गरेका वेला नेपाल प्रहरीले पनि छनौट मापदण्डलाई संशोधन गरेको हो । सशस्त्र प्रहरी बल र नेपाली सेनापछि नेपाल प्रहरीले पनि संयुक्त राष्ट्र संघको शान्ति मिसनमा सहभागी छनौटका लागि वरिष्ठतालाई आधार बनाएको छ ।
प्रहरीको यूएन शाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वीरेन्द्र बस्यालले यूएन फम्ड पुलिस युनिट छनौट मापदण्ड, २०७७ लाई गृह मन्त्रालयले स्वीकृत गरेको बताए । योसँगै अब हरेक प्रहरी अधिकारीले मिसन जानलाई आउने पालोबारे पहिल्यै अनुमान गर्न सक्नेछन् ।
प्रहरी प्रधान कार्यालयमा रहेको कर्मचारी प्रशासन शाखाको डेटावेसका आधारमा वरिष्ठता तय गरिने मापदण्डमा उल्लेख छ ।
नेपाली सेनाले गत वर्ष शान्ति सेनाको कार्यविधि संशोधन गरेर वरिष्ठतालाई आधार बनाएको थियो भने सशस्त्र प्रहरीले केही वर्षअघिबाटै यो अभ्यास गरिरहेको छ । नयाँ मापदण्ड लागू भएसँगै शान्ति मिसनको छनौट पारदर्शी र व्यवस्थित हुने अपेक्षा गरिएको छ ।
नयाँ मापदण्डले अनुसन्धान विशिष्ट योगदान गरेवापत दिइने कोटा पनि खारेज गरेको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !