- सिरहा ,भदौ २६ गते शुक्रबार ।।
- जनप्रभाब – सम्बादाता
सिरहाको बरियारपट्टी गाउँपालिकाले कोरोनाको सामना गर्न विभिन्न उपायहरू अवलम्वन गरिरहेको छ । सम्भावित जोखिमहरूलाई अवसरको रूपमा लिएर काम गरिहेको अध्यक्ष सन्तोष कुमार महतोले बताउनुभयो ।
गाउँपालिकामा कोरोना भित्रिन नदिन सिमा नाकाहरूमा हेल्प डेक्स संचालन, नाकामा कडाई, विभिन्न जनचेतनामूलक कामहरू गरिरहेको उहाँले बताउनुभयो । गाउँपालिकामा १६ जनामा कोरोना संक्रमण देखिएको र ती मध्ये ११ जना ठीक भई घर फर्किसकेका छन् भने ५ जना आइसोलेसनमा उपचाररत रहेको अध्यक्षले बताउनुभयो । भारतबाट आएका व्यक्तिहरूबाट कोरोना संक्रमण फैलिएको अध्यक्ष महतोले बताउनुभयो ।
त्यसैगरी गाउँपालिकामा हालसम्म २२५ जनाको पि.सि.आर परीक्षण भईसकेको अध्यक्षले जानकारी दिनुभयो । गाउँपालिकाले सुरुमा ४ वटा क्वारेन्टाइनको व्यवस्था गरेको थियो भने हाल एउटा मात्र सञ्चालनमा रहेको उहाँले बताउनुभयो । कोरोना भाइरससँग लड्न गाउँपालिकामा चाहिने स्वास्थ्यकर्मी तथा प्रविधि हालसम्म गाउँपालिकाबाटै व्यवस्था गर्दै आइरहेको छ ।
महामारीले गर्दा विभिन्न किसिमको समस्या झेल्नुपरेको अध्यक्षले बताउनुभयो । उहाँले भन्नुभयो, ‘महामारीले गर्दा थुप्रै योजनाहरू रोकिएका छन् । विकास निर्माणका कामहरू गर्नुपर्ने अवस्थामा यस कोरोनाको व्यवस्थपनमा लाग्नुपरेको छ । तर पनि स्थानीय तहले गर्नुपर्ने सबै कामहरू गरिरहेको छ । ’
गाउँपालिकाले जनताको घर आँगनमै पुगेर सचेतना फैलाइरहेको छ । विभिन्न रेडियो कार्यक्रम तथा चेतनामूलक कार्यक्रम गरेर स्थानीयहरूलाई यस रोगबाट कसरी सुरक्षित रहने र सावधानी कसरी अपनाउने लगायतका विषयमा सचेत गराइरहेको छ । सम्पूर्ण जनप्रतिनिधि, शिक्षक, स्वास्थ्यकर्मी, कर्मचारी महामारी रोकथामका लागि दिन रात लागिपरेको अध्यक्षले बताउनुभयो ।
गाउँपालिकाले महामारीलाई मध्य नजर गरेर बजेटमा विशेष प्राथमिकता स्वास्थ्यलाई दिएको अध्यक्ष महतोले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यस कोभिड १९ को रोकथामका लागि गाउँपालिकाले VTM मेसिनहरू खरिद गरी पि.सि.आर परीक्षणको दायरा बढाउने काम गरिरहेको छ । गाउँपालिकामा भएका प्रत्येक घरधुरीमध्ये कम्तिमा १ जनाको पि.सि.आर परीक्षण गर्ने लक्ष्य लिएका छौँ ।
यसलाई न्यूनिकरण गर्दै विकास निर्माणमा कामलाई समेत निरन्तरता दिने योजना अघि सारेका छौँ ।’ मिडियाले जनतासामु सत्य तथ्य समाचार फैलाउन एकदम महत्वपूर्ण भूमिका खेलेको भन्दै अध्यक्ष महतोले नेपालभर रहनुभएका सम्पूर्ण नागरिकहरूलाई कोरोना भाइरसँग लड्नका लागि सबै नियम पालना गरी सचेत रहन आग्रह गर्नुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !