- जनकपुर,भदौ २५ गते बिहीबार ।।
- जनप्रभाब – सम्बादाता
जिल्ला समन्वय समिति महोत्तरीले खोला उत्खननमाथि प्रतिवन्ध लगाएको छ । बेलाबेलमा खोला अनुगमन गरेको पनि देखिन्छ । तर खाेला उत्खननमाथि भने राेकिएका छैनन् । स्थानीय सरकारले बेलाबेलमा अनुगमन गरेपनि खासै चासाे देखाएका छैनन् ।
खोला किनारमा ३० भन्दा बढी क्रसरहरु संञ्चालनमा रहेका छन्, तर ति सबै क्रसरहरू मापदन्ड विपरित नै संञ्चालनमा रहेको छ । कतै नगरपालिकाको मिलोमतोमा त कतै प्रहरी प्रसाशनको मिलोमतोमै उत्खनन भइरहेको छ । प्रदेश २ को कतिपय ठाउँ यस्तो छ- जहाँ क्रसर माफियाको राज नै चल्छ ।
धनुषामा क्रसर माफियाले पर्यावरण अभियन्ता दिलिप महतोको हत्या नै गर्यो । धनुषामै बन्दुक (पेस्तोल) देखाएर उत्खनन गरेको घटना पनि सार्वजनिक भयो । धनुषामा जस्तै महोत्तरीमा पनि क्रसर माफियाको राज चलेको छ । बर्दिबास नगरपालिका-६ स्थित सुमित बालुवा प्रशोधन उधोग प्रालिले दादागिरी शैलीमा नदी उत्खनन् गर्दै आएको छ ।
केही दिन पहिला बर्दिबास नगरपालिका-६ किसाननगरस्थित रातु खोलामा करिव १५ लाखको लागतमा निर्माण गरिएको ४५ फिट लम्बाइ भएको तटबन्ध सुमित बालुवा प्रशोधन उधोगले भत्काइदिएको छ । उत्खनन गर्ने उदेश्य तटबन्ध भत्काएर बाटो निर्माण गर्न लागेको स्थानीय मनोज साहले बताए ।
तटबन्धको सय मिटर पूर्व रहेको क्रसर उद्योगले रातिको समयमा उत्खनन गर्न उक्त तटबन्ध माथिबाट बाटो निर्माण गर्न लागेको स्थानीय बताउछन् । उक्त क्रसर उद्योगको गाडीले तटबन्धमाथि ग्राभेल हालेको र तटबन्ध माथिबाट टिपर र जेसिबी चलाउने गरेकाे स्थानीयले बताए । स्थानीय भन्छन्, ‘प्रशासनलाई जानकारी गराउँदा केही समयमै प्रहरी आए । प्रहरीले गाडी देखेर पनि नदेखेको जस्तो गरेर त्यहाँबाट फर्किए ।’ तटबन्ध माथिबाट गाडी लान खोज्दा नयाँ निर्मित तटबन्धको केही भाग पुर्णरुपमा क्षतिग्रस्त बनेको स्थानीयले सुनाए ।
तटबन्ध माथिबाट बाटो निर्माण गर्नका लागि खोला उत्खनन गरिरहेका बेला स्थानीय देखेपछि रोक्न पुगेका थिए तर क्रसरका मेनेजर सुनिल साहले आफूलाई वडा अध्यक्षले भनेपछि मात्रै खनेको भनेर जवाफ दिएकाे स्थानीय बताउँछन् । सुमित बालुवा प्रशोधन क्रसर उधोगका प्रतिनिधि मनोज बैठाले गाडीको आवतजावत गर्नका लागि उक्त तटबन्ध माथिबाट बाटो निर्माण गर्न लागेको बताए ।
यता, बर्दिबास नगरपालिका-६ का वडाध्यक्ष पदम आले भने आफूलाई यो विषयमा कुनै किसिमको जानकारी नभएको बताए । उनले आफूले कुनै क्रसर उद्योगलाई उत्खनन तथा तटबन्ध माथिबाट बाटो निर्माण गर्न अनुमती नदिएको दावी गरे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !