- मिर्चैया ,भदौ २३ गते मंगलवार ।।
- जनप्रभाब – बिनय कुमार यादव
सिरहाको मिर्चैया नगरपालिकामा व्यापक अनियमितता भएको भन्दै स्थानीय राजनीतिक दलहरुले त्यसविरुद्ध सर्वदलीय रुपमा आन्दोलनको घोषणा गरेको छ ।
विभिन्न राजनीतिक दलका स्थानीय नेताहरुले नगरपालिकाविरुद्ध सर्वदलीय रुपमा आन्दोलनमा उत्रिने घोषणा गरेका हुन् । सर्वदलीय संयुक्त संघर्ष समितिले सोमबार पत्रकार सम्मेलन गर्दै गर्न लागेको आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।
संघर्ष समितिले भाद्र २६ गते मिर्चैयामा र्याली प्रदर्शन, २८ भाद्रमा राघोपुरमा नगरपालिकाको गतिविधिबारे विषेश चर्चा र असोज २ मा आन्दोलनको समिक्षा गर्दै आउने दिनको आन्दोलनका प्रारुप तय गर्ने जारी प्रेस विज्ञाप्तीमा उल्लेख गरिएको छ ।
मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादवको निर्देशनमा नगरपालिकाले नियमित रुपमा सार्वजनिक गर्नुपर्ने सूचनाहरु लुकाएर चरम भ्रष्टाचार गरिरहेको आरोप उनीहरुको छ । पदिय मर्यादालाई दुरुपयोग गर्दै मेयर यादवले आफू अनूकुल नीति, नियम तथा ऐनलाई अपव्यख्या गरेर भ्रष्टाचार गर्ने गरेको उनीहरुले बताए ।
योजना संचालन हुने स्थानका उपभोक्ताको प्रत्यक्ष सहभागीतामा उपभोक्ता समिति गठन गर्ने प्रावधान छ । तर, मेयर यादवले त्यसलाई बेवास्ता गर्दै अधिकांश योजनाका उपभोक्ता समितिमा अन्य ठाउँका आफू अनूकुलका व्यक्तिहरुलाई राखेर मोटो रकम नजराना असुल्ने गरेको उनीहरुको आरोप छ ।
नगरपालिकाबाट संचालन भएको योजनाहरुको विस्तृत विवरण सहितको जानकारी लिन लिखित निवेदन दिएर पटकपटक ताकेता गर्दा पनि बनावटी कारण देखाएर मेयर यादवले समय टार्दै आएको तत्कालिन राजपाका नगरध्यक्ष अंजय कुमार साहले बताए । सूचना दियो भने मेयरले गरेको भ्रष्टाचारको पोल खुल्ने भएर सार्वजनिक गर्नुपर्ने सूचनाहरु समेत लुकाउन लागी परेको उनको ठम्याई छ ।
नगरपालिकाको कर्मचारीहरु मध्ये अधिकांश मेयरको आफन्त, कार्यकर्ता र आसेपासे नै रहेको उनीहरुको दाबी छ । पदिय मर्यादालाई दुरुपयोग गर्दै पहुँचको भरमा भ्रष्टाचार गर्ने नियतले अरु ठाउँबाट आफ्ना आफन्तलाई सरुवा गराएर नगरपालिकामा ल्याएको उनीहरुले बताए ।
‘मेयर हुनुभन्दा अगाडि उहाँ मोहन माविको अध्यक्ष थियो,’ नेकपाका प्रदिप महासेठले भने, ‘त्यो बेला विद्यालयमा गरेको अनियमितता ढाकछोप गर्न मर्यादालाई बिर्सेर गैर अभिभावकको बलमा मेयर श्रवण यादव आफै व्यवस्थापन समितिको अध्यक्ष बनेको छ ।’ विद्यालय व्यवस्थापन समितिलाई नै निर्माण समितिमा परिणत गरेर विद्यालयमा चरम भ्रष्टाचार गर्दै आएको उनको दाबी छ ।
नगरक्षेत्र भित्रको सार्वजनिक जग्गा व्यक्तिको नाउँमा तथा मेयरले अनुचित लाभ लिनु, मोहन माविको जग्गालाई व्यक्तगत रुपमा प्रयोग गर्नु, आफ्ना नजिकका व्यक्तिलाई उपभोक्ता समितिमा राखेर सो काम पेटीमा ठेकेदारलाई दिनु लगायतका गतिविधिबाट मेयरको भ्रष्टाचारी नीति प्रष्ट भइरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य रामप्रताप साहले दाबी गरेका छन् ।
पारदर्शीताको लागि आवाज उठाउँदा मेयर यादवले विपक्षीलाई अनावश्यक दुःख दिने काम गरिरहेको कांग्रेसका नगर सभापति रमेश न्यौपानेको गुनासो छ । सरकारी बजेटलाई मेयर यादवले आफ्नो निजी झैँ ठानेको नेकपाका जीवछ साह बताउँछन् ।
स्थानीय सरकार आएपछि विकास र परिवर्तन हुनुपर्नेमा यहाँका नेतृत्वको गैर जिम्मेवारपन पाराले यो नगरपालिका झन पछि पर्दै गएको जसपाका रामेश्वर यादवको भनाई छ । मिर्चैया नगरपालिकामा लोकतन्त्रमा पनि राजतन्त्र जस्तो दृश्य मेयर यादवले सिर्जना गरेको तरुण दलका क्षेत्रीय सभापति धनेश्वर यादवले बताए ।
नगरपालिकाको नेतृत्व नसच्चिए अब चुप नबस्ने जनमत पार्टी निकट स्थानीय युवा रुकेश साहको चेतावनी छ । मिर्चैया नगरपालिकाका मेयरले गर्ने गरेको नियम विपरितका कार्यलाई रोक्न तथा सच्चयाउनका लागि सर्वदलिय रुपमा पहिलो चरणको आन्दोलनका कार्यक्रम मार्फत् सांकेतिक दबाव मात्र दिएको भन्दै यसलाई बेवास्ता गर्दै अघि बढ्ने प्रयास मेयरबाट भइरहेमा भिषण आन्दोलन हुने उनीहरुको चेतावनी छ ।
यता, नगरपालिकाका मेयर श्रवण यादवले भने कोभिड–१९ को बढ्दो संक्रमणको मौका छोपेर विपक्षीहरुले चुनावी हारको इख साध्न खोजेको प्रतिक्रिया दिएका छन् । उनले आन्दोलनकारी पक्षको भनाई र आरोपमा कुनै सत्यता नभएको बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !